Techie IT
×
गृहपृष्ठराजनीतिचीनले अघि सारेको बीआरआई परियोजना महत्त्वपूर्ण : प्रचण्ड

चीनले अघि सारेको बीआरआई परियोजना महत्त्वपूर्ण : प्रचण्ड


काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बीआरआई परियोजना महत्त्वपूर्ण हुने बताएका छन् ।

मङ्गलबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना महत्त्वपूर्ण हुने बताएका हुन् । बीआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्त्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताए । यस्तै गएको वर्ष चिनियाँ राष्ट्रपति सी जनिपिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले बताए ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले बीआरआई यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्त्वपूर्ण हुने बताए । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

त्यस्तै बीआरआईले नेपाललाई विश्वव्यापी मूल्य शृङ्खलामा पहुँच पुर्‍याउन सघाउ पुग्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । बीआरआईका नौ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उनले बताए । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्त्वपूर्ण हुने पनि उनले बताए।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका नौ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताए । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सार्थक बनाउनसमेत बीआरआई परियोजना महत्त्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गरेका तिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एण्ड रोड को–अपरेशनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #BRI, #china, #prachanda, #प्रचण्ड