Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरूलाई मिडियामा तामातुलसी छोएर कसम खाएकै भरमा छाड्ने हो?: रवि लामिछाने


काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरूको पनि अनुसन्धान हुनुपर्नेमा जोड दिए । घुमाउरो रूपमा आरजु राणा देउवा, मञ्जु खाँणप्रति इंगित गर्दै नाम आएकाहरूलाई मिडियामा तामातुलसी छोएर कसम खाएकै भरमा छाड्ने हो भन्दै प्रश्न गरे ।

उनले तीन दलका नेताहरू बसेर सामसुम पार्न खोजिएको हो भन्दै प्रश्न गरे । त्यसको गन्ध आएको भन्दै उनले देशभरि त्यसको गन्ध गइसकेको बताए । “नाम आएका मानिसहरू देखिनुहुन्छ, कोही बेपत्ता भयो भन्ने थाहा हुन्छ । त्यसपछि केही समयपछि सामसुम हुन्छ,” उनले भने, “बयान लिने काम सकिन्छ । कोही ढ्याक्कै प्रकट हुनुहुन्छ । कोही संसद्मा प्रकट हुनुहुन्छ । कोही मिडियामा तामातुलसी छोएर कसम खाएर प्रकट हुनुहुन्छ । नाम लिएका सर्वसाधारणको हकमा पनि यही नियम लागु हुन्छ रु”

सांसद लामिछानेले पैसा बुझाएको कुराहरू बाहिर आउँदा किन अनुसन्धानमा नल्याएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे । “भ्रष्टाचार काण्ड कल्पनै गर्न नसकिने गरी दिनहुँ प्रस्तुत भएको छ । डरलाग्दो कुरा के भने राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमा ठूल्ठूला भ्रष्टाचार काण्ड भएका छन्, यसलाई हामीले सामान्य बनाएर गएका छौँ,” उनले भने, “नक्कली भुटानी शरणार्थी काण्डमा बालुवाटारभित्र पैसा बुझाएको, सिंहदरबार मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आएका छन् ।”

सांसद लामिछानेले थपे, “म कसैले आरोप लगाएको भरमा कसैलाई दोषी भन्न गइरहेको छैन । कम्तिमा राज्यले छानबिन गर्न सक्छ ।” उनले प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई बयान लिनुपर्नेमा जोड दिए । जनतालाई विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई मुटु नकमाउन अनुरोध उनले गरेका छन् ।

हाई प्रोफाइनल भनेर कसैलाई छोड्न नहुनेमा उनले जोड दिए । निर्मम भएर यसको समीक्षा गर्नुपर्ने भन्दै उनले तीन पार्टी बसेर छलफल गर्दा शंका उत्पन्न भएको बताए ।

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #rabi lamichhane

प्रतिक्रिया


ताजा अपडेट