Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

कर्णालीमा आमसञ्चार नीति बनाइने


दिपेन्द्र शर्मा

सुर्खेत ५ असार

कर्णाली प्रदेशमा आमसञ्चार नीति वनाइने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारीले कर्णाली प्रदेश सरकारले आमसञ्चार नीति बनाउने बताएकी छिन ।

नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिवार आयोजित कर्णाली प्रदेशको सञ्चार नीतिबारे संवाद कार्यक्रममा कानुनमन्त्री नेपालीले कर्णाली प्रदेशमा आमसञ्चार नीति बनाउने बताएकी छिन ।

कर्णालीमा आमसञ्चार नीति नबनेको हुनाले सरोकारवालाको सहभागितामा कर्णाली सुहाउँदो सञ्चार नीति निर्माण गरिने मन्त्री नेपालीले बताइन । सरोकारवालाको प्रत्यक्ष सहभागितामा बनाउने कानुन बढी प्रभावकारी हुने भएकाले प्रदेश सरकारले सबैको सहभागितामा सञ्चार कानुन बनाउने धारणा ब्यक्त गरिन ।

कर्णाली प्रदेशमा सञ्चार नीति आवश्यक भएकाले सरकारले तत्काल यसको आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिइन । उत्कृष्ट सञ्चार नीति निर्माण गर्न संविधानको भावना अनुसार अन्य प्रदेशका सञ्चार नीतिको समेत अध्ययन गरी कर्णाली सुहाउँदो नीति बनाउने मन्त्री नेपालीले जानकारी दिइन ।

कार्यक्रममा पत्रकार महांसघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सञ्चार नीति विना कानुन बन्ने गरेकाले तत्काल कर्णाली प्रदेशको सञ्चार नीति निर्माण गर्नुपर्ने धारणा राखे । प्रदेश सरकारले अन्य प्रदेशभन्दा पनि कर्णाली मैत्री सञ्चार नीति बनाउनुपर्नेमा उनको जोड थियो ।

सञ्चार नीतिको आधारमा आवश्यक कानुन, संरचना र कार्यक्रम निर्माण तथा तय हुने भएकोले यथासक्य छिटो नीति तर्जुमा गरिनुपर्नेमा सेजुवालले जोड दिए । संविधानले दिएको अधिकारको आधारमा कर्णाली प्रदेशमा कस्तो सञ्चार नीति बनाउने प्रमुख दायित्व सरकारको भएकाले प्रदेश सरकारले नीति निर्माणको प्रक्रिया थाल्नुपर्ने सेजुवालले बताए । सरकारका नीति बन्दा भूगोलमैत्री र श्रमजीवी पत्रकारमैत्री बन्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले सरोकारवाला पक्षसँग छलफल तथा परामर्श गरेर नीति बनाउनुपर्नेमा जोड दिएका छन । कार्यक्रममा उनीहरुले सञ्चार नीतिको आवश्यकता र त्यसको स्वरुपबारे सुझाव राखेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश

प्रतिक्रिया


ताजा अपडेट