Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशगण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै


पोखरा । गण्डकी प्रदेशका नवनियुक्त नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज असार ४ गते विश्वासको मत लिदैछन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था भए पनि मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिन लागेका हुन ।

उनले दुई दिन अघि नै प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकेका थिए ।

गण्डकी प्रदेशमा संविधान अनुसारै असार एक गते बजेट आएको छ । मन्त्रालयको बजेट विनियोजन भएको प्रदेशमा विश्वासको मत नलिई मन्त्रीको समायोजन गर्नको केही अप्ठेरो भएकोले मुख्यमन्त्रीपोखरेलले चाडै विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदसहित चार दल मिलेर तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई अल्पमतमा पारी पोखरेल मुख्यमन्त्री बनेका थिए ।

गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद रहेका छन्। विश्वासको मतको लागि ३० सांसदको मतको आवश्यकता पर्न जानेछ । उनी मुख्यमन्त्रीमा नियुक्त हुँदा एमाले वाहेकको ३१ सांसदको समर्थन प्राप्त गरेका थिए ।

गण्डकीमा नेकपा एमालेको २७, कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन्।

आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस