Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशगोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्यायो

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्यायो


काठमाण्डौं, १६ असोज । काठमाण्डौको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहे पनि मोटरबाटोको सुविधाका कारण गोरखाबाट यस पटक पनि गाडीमै राखेर फूलपाती काठमाण्डौ ल्याइएको छ ।

जमलसम्म गाडीले ल्याएको फूलपाती जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा हनुमानढोकाको दशैँघरमा भित्र्याइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ बढ्छ ।


क्याटेगोरी : साहित्य, बाग्मती प्रदेश
ट्याग : #dashai, #fulpati, #hanuman dhoka, #hot

तपाईको प्रतिक्रिया दिनुहोस