Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबाबुराम भट्टराई माओवादीमा फर्कने सम्भावना छ, कुराकानी पनि भइरहेका छन् : देवेन्द्र पौडेल

बाबुराम भट्टराई माओवादीमा फर्कने सम्भावना छ, कुराकानी पनि भइरहेका छन् : देवेन्द्र पौडेल


काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सुनिलले बाबुराम भट्टराईलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताएका छन्।

आइतबार कमलादीमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा भाग लिई बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बाबुरामलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताएका हुन् । ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘उहाँ माओवादीमा फर्कने सम्भावना छ। कुराकानी पनि भइरहेका छन्।’

उनले वामपन्थीहरू एक हुने भए समाजवादी केन्द्र बनाउन सकिने पनि बताए । ‘समाजवादी केन्द्र पनि राम्रो हो। माओवादी मात्रै हुनुपर्छ भन्ने शब्दमा हामी खेल्न चाहन्नौं,’ उनले भने, ‘यो चुनावअघि नै वामपन्थीहरू एक हुने सम्भावना छ। माओवादीमात्र एक हुने होइन, वामपन्थीहरू नै एक हुनुपर्दछ।’
उनले हिजोका माओवादीहरू मुलभूत रूपमा अब एक हुनेतर्फ अघि बढेको पनि बताए। माओवादी र बाहिर रहेका कम्युनिष्ट घटकलाई वामपन्थी मोर्चामा अघि बढाएर नेतृत्व गर्नुपर्ने बेला आएको बताए।

‘बाबुराम भट्टराई जनयुद्धदेखि लाग्नुभएको हो। उहाँ माओवादीमै लाग्नुभयो भने नेता तथा कार्यकर्ता खुसी हुन्छन्,’ उनले भने, ‘मैले योभन्दा अर्को विकल्प देख्दनँ।’ केही दिन अघि माओवादी अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति निवासमा पनि छलफल भएको थियो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #baburam bhattarai, #breaking, #debendra paudel


तपाईको प्रतिक्रिया दिनुहोस