Techie IT
×
गृहपृष्ठजनमञ्चबैठकमा बालेन साहले किन टेबुल ठोके ?

बैठकमा बालेन साहले किन टेबुल ठोके ?


काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह आइतबार भएको नगरसभा अघि कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुसँग रिसाएका छन् । कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत हुने विषयका बारेमा वडाध्यक्षहरुले प्रश्न गरेपछि विवाद भएको थियो । त्यही क्रममा उनले टेबुल ठोक्दै रिस देखाएका हुन् ।

कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रमबारे जानकारी नै नदिइ छलफल सुरु गरेपछि वडाध्यक्षहरुले प्रश्न गरेका थिए । तर बालेनले ‘अहिले फ्ल्यास गर्न मिल्दैन’ भनेपछि वडाध्यक्षहरुले आपत्ति जनाएका एक कार्यपालिका सदस्यले बताए ।

‘नीति तथा कार्यक्रमको कपी नदिने भनेपछि वडाध्यक्षहरुले चर्को विरोध गरेका थिए । एकछिन होहल्ला भएपछि मेयरसाबले टेबल ठोक्नुभयो’, ती कार्यपालिका सदस्यले भने । वडाध्यक्षहरुको विरोधपछि आक्रोशित बनेका बालेनले टेबल ठोक्दै ‘ल अब म नीति कार्यक्रम प्रिन्ट गरेर ल्याएर दिन्छु, प्रिन्ट नआएसम्म कार्यपालिका चलाउँदिन । तपाईँहरुले त्यही चाहिएको होइन ?’ भनेका थिए । यति भनेर ५ मिनेटसम्म कसैसँग कुरा नगरेको ती कार्यपालिका सदस्यले बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले शान्त रहेर कार्यपालिका सञ्चालन गर्न मेयर बालेनलाई आग्रह गरेका थिए । अरु वडाध्यक्षहरुले पनि ‘नीति तथा कार्यक्रमहरु प्रिन्ट गरेर आउँदै गर्छ त्यतिबेलासम्म कार्यपालिका वैठक चलाएर छलफल सुरु गरौं’ भन्दा बालेन मानेका थिएनन् ।

‘उहाँले ५ मिनेट जति नीति कार्यक्रम हातहातमा दिएपछि मात्रै कार्यपालिका चलाउँछु भनेर घुर्की लगाउनु भयो । वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले छलफल गरौं रिसाउन हुन्न भन्दा मान्नुभएन । त्यसपछि केही वडाध्यक्षले ‘रिसाएर कहिँ पुगिँदैन, हामीलाई पनि रिसाउन आउँछ नि, तपाईँलाई फकाएर बस्नुपर्ने ?’ भनेपछि छलफल सुरु भएको थियो’ बैठकमा सहभागी एक वडाध्यक्षले सुनाए ।

 


क्याटेगोरी : जनमञ्च, राजनीति, बाग्मती प्रदेश
ट्याग : #balen, #hot


तपाईको प्रतिक्रिया दिनुहोस