Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

मेलम्चीमा पानी नपर्दा पनि बाढी, विज्ञ टोली पठाइदै


काठमाण्डौ, ५ असार । पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

‘पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने – ‘खोलाको शिर भाग अर्थात मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।’

मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

आज काठमाण्डौबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

हेलम्बुमा राहत पुर्याउन कठिन

मेलम्चीमा बाढी प्रभावितलाई अस्थायी बास र राहतको व्यवस्था मिले पनि हेलम्बुमा राहत पुर्याउन कठिनाइ भएको छ । बाढीले सडकसँगको सम्पर्कविच्छेद गरिदिएपछि हेलम्बुमा हेलिकप्टरबाट हिजो र अस्ति केही राहत सामग्री खसालिएको थियो । तर, यो पर्याप्त नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।

उनका अनुसार हेलम्बुका बाढी पहिरो पीडित कसरी बसिरहेका छन् भन्नेबारे नै पत्ता लगाउन गाह्रो भएको छ । हेलम्बु जस्तै पाँचपोखरीको याङ्ग्री र लार्के क्षेत्रमा पनि राहत पुर्याउन समस्या भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका(२ का वडा अध्यक्ष पासाङ तामाङ याङ्ग्री, टासिवा, सुनचौर रमैखर्कका ६८ परिवार बाढी पहिरोले विस्थापित भएको बताउँछन् । सडक सञ्जाल पनि विच्छेद भएपछि राहत पुर्याउनै मुस्किल भएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #flood, #hot, #melamchi

प्रतिक्रिया


ताजा अपडेट