Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाण्डौको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा तोडफोड

काठमाण्डौको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा तोडफोड

एक सय वर्षभन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो


काठमाण्डौ, ८ कात्तिक । काठमाण्डौको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका मानिसका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् ।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ । निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाण्डौमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिनुभएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । यसअघि पनि पटक–पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए।

यस्तै मस्जिद रहेको काठमाण्डौ महानगरपालिका वडा नं. २२ की वडा सदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् ।

यो घटनाको मुस्लिम सङ्‍घले समेत विरोध गरेको छ । मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतारले यो घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाण्डौ आउजाउ गर्दा नमाज पढ्ने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #breaking, #hot, #madani mosque, #mosque, #mosque in nepal