Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसप्तरीमा कोरोनाका कारण थप एक जनाको मृत्यु

सप्तरीमा कोरोनाका कारण थप एक जनाको मृत्यु


सप्तरी २८ साउन । सप्तरीमा कोरोना संक्रमणका कारण थप एक वृद्धको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

डाक्नेश्वरी नगरपालिका ८ का ७५ वर्षीया बेचुलाल साहको मंगलबार राती आइसोलेशन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । चार दिन अघि मुटुसम्बन्धी समस्याका कारण जचाउन गजेन्द्र नारायण सिंह अस्पताल आएका उनलाई चिकित्सकले कोरोना संक्रमणको पनि आशंका गरेर स्वाब संकलन गराई सुरक्षित रुपमा घरमै बस्न सल्लाह दिई पठाएका थिए ।

मंगलबार राती सो अस्पतालको प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोरोना पुष्टि भएपछि तत्कालै उनलाई लिन एम्बुलेन्स पठाइएको थियो । अस्पतालका प्रमुख डा. रन्जित झाका अनुसार राजविराज ६ मा समेत घर भएका उनलाई साईकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेशनमा राख्नका लागि एम्बुलेन्समा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सेनाको सहयोग र निगरानीमा बुधबार परिवारजनसहितको उपस्थितीमा शवको व्यबस्थापन गर्ने तयारी भइरहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.झाले जानकारी दिएका छन् ।

यसअघि असार ३१ गते राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्ण दास तथा साउन २१ गते रुपनी गाउँपालिकाका ४५ वर्षिय बिन्देश्वर साहको कोरोना कै कारण मृत्यु भएको थियो । यता बुधबार बिहान मृतक साहको राजविराज ६ स्थित घर सिल गरिएको छ भने परिवारका सबै सदस्यको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

बुधबारसम्ममा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।


क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #breaking, #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस