कोरोना संक्रमित बढेपछि जलेश्वरमा निषेधाज्ञा घोषणा

जलेश्वर । समुदायस्तरमा नै कोरोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शक्रबार रातिबाट ५ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी ५ दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
त्यसैगरी, जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।
उनको शव तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा बिहीबार कोरोना संक्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।
क्याटेगोरी : स्वास्थ्य, मधेस प्रदेश
ट्याग : #Corona
प्रतिक्रिया