Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १विचार मिल्ने दलसँग चुनावी तालमेल गर्न एमाले तयार छ : नेम्बाङ

विचार मिल्ने दलसँग चुनावी तालमेल गर्न एमाले तयार छ : नेम्बाङ


ताप्लेजुङ, २५ साउन । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । राजनीतिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताएका हुन् ।

बुधबार बिहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै नेता नेम्बाङले मिश्रित निर्वाचन प्रणालीमा कुनै एक दलले मात्र बहुमत ल्याउनसक्ने निश्चित नहुने हुँदा चुनावी तालमेल गर्नु अनौठो नभएको बताए । उनले हालको सत्ता गठबन्धनजस्तो नभई राजनीतिक विचार मिल्ने दलसँग मात्र एमालेले चुनावी तालमेल गर्नसक्ने बताए ।

उनले अहिलको सत्ता गठबन्धन विभिन्न विचार भएको दलहरुबीचको गठबन्धन भएकाले त्यसलाई ‘दूषित गठबन्धन’ को संज्ञा दिए । दूषित गठबन्धन भएकै कारण सत्ता गठबन्धनबीच नै संसदमा कुनै बेला सत्ता पक्ष र प्रतिपक्षको भूमिका देखिने गरेको उनको भनाइ छ । त्यस किसिमको अवस्थाबारे सचेत रहँदै पार्टीको नीति र योजनाअनुरुप आगामी सङ्घ र प्रदेशको निर्वाचनमा विचार मिल्ने दलहरुबीच एमालेले गठबन्धन गर्न चाहिरहेको उनले बताए ।

तत्कालीन संविधान सभाका अध्यक्षसमेत रहेका नेम्बाङले आगामी निर्वाचनमा एमाले पहिलो दल हुनेगरी निर्वाचित लक्षित योजनामा जुटिसकेको बताए । आफूसहित पार्टीका शीर्षनेताहरु निर्वाचन लक्षित कार्यक्रममा जुटेको बताउँदै उनले देशभर जित्ने पात्रलाई सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार बनाउने पार्टीको तयारी रहेको बताए ।

एमाले जिल्ला कमिटीको आयोजनामा बुधबार फुङ्लिङमा हुने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष नेम्बाङ, सचिव योगेशकुमार भट्टराईसहितका नेताहरु ताप्लेजुङ आएका हुन् ।


क्याटेगोरी : राजनीति, प्रदेश १
ट्याग : #hot, #subash nembang


तपाईको प्रतिक्रिया दिनुहोस