गृहपृष्ठ ∕
प्रदेश ∕
चितवनका कम्युनिष्ट नेता शोभाखर चापागाईको कोरोनाले मृत्यु
चितवनका कम्युनिष्ट नेता शोभाखर चापागाईको कोरोनाले मृत्यु
चितवन, १६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका पुराना कम्युनिस्ट नेता शोभाखर चापागाईंको कोरोनाको कारण मृत्यु भएको छ । भरतपुर वडा नं. ६ निवासी ७८ वर्षीय पुराना वामपन्थी नेता चापागाईं भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युपछि नेकपा चितवनले शोक वक्तव्य जारी गरी पार्टीलाई क्षति भएको जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनका सदस्य भरतपुर वडा नं। ६ निवासी पुराना वामपन्थी नेता चापागाईंको सोमबार भएको निधनले सिङ्गो पार्टी स्तब्ध र मर्माहत बनेको उल्लेख गरिएको छ ।
उनी केही दिनअघि कोभिड–१९ बाट सङ्क्रमित भई भरतपुर अस्पतालमा उपचारत रहेको जनाइएको छ । चापागाईं वि.सं. २०३४ सालमा तत्कालिन कोअर्डिनेसन केन्द्र जिल्ला सङ्गठन कमिटी चितवनको संस्थापकमध्ये एक रहेको उल्लेख छ । २०३५ सालमा कोअर्डिनेशन केन्द्र तात्कालिन नेकपा मालेमा रुपान्तरण गरी चितवन जिल्ला सङ्गठन कमिटी गठन हुँदासमेत उनी सदस्य रहेका थिए ।
चितवनको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका चापागाईं चितवनको दुग्ध उत्पादनमा अग्रणी संस्था अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक रहेका थिए । विभिन्न शैक्षिक संस्था, सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा समेत सक्रिय चापागाईं गाईपालक श्रमजीवी किसानको रुपमा समेत आफ्नो परिचय बनाएको पार्टीका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।
नेता शोभाखरको निधनले पार्टीले एउटा कुशल अभिभावक र असल सामाजिक अभियन्ता गुमाएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
पार्टीका पुराना नेताको निधनप्रति जिल्लाका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
राजनीति
ट्याग : #Corona