गोरखामा निषेधाज्ञा हट्यो, चहलपहल सुरु
गोरखा, १५ भदौ । गोरखामा निषेधाज्ञा आजदेखि हटेको छ । भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटेसँगै चहलपहल सुरु भएको छ ।
आफ्नै प्रयोजनका लागि निजी गाडी चल्न थालेका छन् । ती गाडीमा चालकसहित तीन जनाभन्दा बढी यात्रु राख्न भने नपाइने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
त्यस्तै होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन् । कोभिड–१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको थियो ।
अत्याधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखामा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
क्याटेगोरी :
प्रदेश,
गण्डकी प्रदेश
ट्याग : #Corona,
#hot,
#निषेधाज्ञा