Techie IT
×
गृहपृष्ठप्रदेशमहोत्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, शव सेनालाई हस्तान्तरण गरिने

महोत्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, शव सेनालाई हस्तान्तरण गरिने


जलेश्वर, ९ भदौ । महोत्तरीमा कोरोनाको कारणले थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै महोत्तरीमा कोरोनाका कारणले तीन जनाको मृत्यु भइसकेको छ ।

जिल्लाको मनरासिश्वा नगरपालिका वडानं ५ बस्ने ७५ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो । पीसीआर पोजिटिभ आएपछि उनलाई जलेश्वर अस्पतालको आइसोलेसनमा राख्नको लागि ल्याइएको थियो । आइसोलेसन सेन्टरमा नपुग्दै उनको मृत्यु भएको हो । उनीसँगै पीसीआर पोजिटिभ उनका छोरासमेत साथमा रहेका थिए ।

लामो समयदेखि उनी विभिन्न रोगले ग्रस्त रहेको जलेश्वर अस्पतालको आइसोलेसनमा खटिएका चिकित्सक डा. मुकेशकुमार साहले बताए । मृतकको छोराले दिएको जानकारीअनुसार डायबिटिज, उच्च रक्तचापको समस्याका साथसाथै क्यान्सरका समेत उनी बिरामी रहेका थिए । पछिल्लो समय उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा समेत भइरहेको थियो । आइसोलेसन सेन्टरमा नराख्दै ती व्यक्तिको मृत्यु भएको डा. साहले बताए।

यसैबीच, जलेश्वर अस्पतालले कोरोनाबाट मृत्यु भएका ती व्यक्तिको शवलाई आवश्यक प्रक्रिया पुर्याएर नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको छ ।

जलेश्वरस्थित रणभीम गणका गणपति विदुर अधिकारीले जलेश्वर अस्पतालबाट खबर प्राप्त भएको र आवश्यक प्रक्रियापछि कानुन अनुसार सदगत गरिने जानकारी दिए ।

स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ फोकल पर्सन गिरेन्द्रकुमार झाले जिल्लामा ८९ महिला र १०८३ पुरुष गरी ११७२ जना अहिलेसम्म पीसीआर पोजिटिभ देखिएको बताउनुभयो । योसहित तीन जनाको मृत्यु भइसकेको उहाँले बताउनुभयो । यसअघि महोत्तरी गाउँपालिकाका एक वृद्ध, मटिहानी नगरपालिकाको एक वृद्धको कोरोनाबाट मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #breaking, #Corona, #hot


प्रतिक्रिया दिनुहोस