Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुली गढीको युद्धबारे पृथ्वीनारायण शाहले भने…

सिन्धुली गढीको युद्धबारे पृथ्वीनारायण शाहले भने…


अहिले हामी सबैतिर शत्रुहरुसँग जुधिरहेका छौँ । त्यसमाथि अब फिरंगी (अंग्रेज) पनि थपिने भयो । तिमीहरुले त्यसलाई सिन्धुलीगढीमा फाँड्नुपर्छ । जाई कटक नगर्नु, झिकी कटक नगर्नु ।

फिरंगीले हिन्दुस्तानका राजाबास्साहरुलाई आफ्ना पाउमुनि दबाएको छ । काशी गएको बेला मैले आफ्नै आँखाले देखेर आएँ । भोट र चीनलाई समेत ताकेको छ । मैले नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जितेपछि त्यसको भोट जाने बाटो बन्द गरें । आनि मसँग आगो भएको छ ।

फिरंगी सबैभन्दा पहिले पादरीको जामाभित्र धर्मको किताप बोकेर पस्छ । अनेक लोभलालचामा परेर सोझा रैतीको स्वधर्म बदल्छ । अनि धर्मको कितापभित्र लुकाएर ल्याएको लुतो झिकेर व्यापार गर्छ र अर्काको देश लुट्छ । अनि त्यसभित्रको बन्दूक झिकेर शासन गर्छ ।

मुसो भएर पस्छ, हात्ती भएर रजाईँ गर्छ । अहिले हिन्दूस्तानमा त्यही भएको छ । त्यसलाई बेलैमा नरोक्ने हो भने हाम्रो पनि त्यही दुर्गती हुन्छ । त्यसले मलाई हाँक दिएर ‘तिमी हाम्रो शत्रु हौ’ भनेर चिठि पठाएको छ । फिरंगी नेपाल खाल्डोमा छिर्यो भने बाँकी नेपाल पनि त्यसकै हुन्छ ।

हाम्रा गढीगौँडाहरु भगबानले बनाएका किल्ला हुन् । यिनमा फिरंगी त के देउताका राजा इन्द्रले नै अए भने पनि हामीलाई जित्न सक्दैनन् ।

वीरभद्रे तँ सेनापति मात्र होइन, खजान्ची पनि होस् । तुरुन्त सिन्धुलीगढी गइहाल् । त्यहाँका रैतीहरुको रीतिथिति बुझ् । हुनेखाने वीर्तावार, किपटिया र रैतीसँग रकम सापट ली । त्यसको हिसाब राख् । लडाईँ जितेपछि फिर्ता गर्नुपर्छ । ठिक ठाउँ हेरी आड, किल्ला, कोट बना । सोला थाप् । भाँजा हाल् । अरिंगालको गोला र सिस्नुको झाङ जगाइराख् ।
फिरंगी सिन्धुलीगढीबाट यता छिर्न नसकेपछि दोलखाको बाटो भोटको नाका खोल्ने उद्यम गर्ला । त्यो बाटोमा पनि गढी र किल्ला बना ।

शिकारी तँ पनि खजान्चीसँगै सिन्धुली जा । लवनमा सोला, भाँजा थाप् । र ठीक मौकामा काँडा हानेर अरिंगाल बिच्क्याउने काम गर् । श्रीहर्खेलाई शिकारी र खजान्चीले सघाउनू । बंशे तैंले मेरा ठूलाठूला लडाईँ फत्ते गरेको छस् । तेरो मातहतमा सबैले मिलेर फिरंगीलाई गढी काट्न नदिनू ।

तिमीहरुले जनकपुरदेखि नै यताको बाटोमा पर्ने गाउँका बस्ती उठाएर अन्तै सार्नू । त्यसो गरे फिरंगीले हाम्रा प्रजालाई बन्दूक देखाएर उर्दीका भरमा रसद बटुल्न सक्दैनन् । भरिया र बाटो देखाउने मान्छे पनि पाउँदैनन् ।

पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई कडा नाकाबन्दी गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले उपत्यकाका अन्य दुई राजा भक्तपुरका रणजित मल्ल र ललितपुरका तेजनरसिंह मल्लसँग सल्लाह गरी फिरंगीलाई गुहार्ने निधो गरेका थिए । जयप्रकाश मल्लले फिरंगीका हाकिम सर रोवर्ट बार्करलाई औपचारिक निवेदन नै पठाए ।

त्यसपछि फिरंगीले कप्तान किनलकलाई जयप्रकाशको मदत गर्न खटायो । २६ अगस्त १७६७ मा किनलक पटनाबाट २४ सय सिपाही लिएर भदौको भरी र भेलमा नेपाल हान्न हिँड्यो । लगातारको भरीमा रुझ्दैभिज्दै ९ सेप्टेम्बरमा जनकपुर आइपुग्यो ।

जनकपुरको डन्डे चौधरी फिरंगीको एजेन्ट थियो । उसैले फिरंगीलाई सिन्धुली जाने बाटो देखायो, १२० गाडा रसद व्यबस्था मिलाइदियो । फिरंगीको टुकडी जनकपुरबाट १० दिनपछि सिन्धुली आइपुग्यो । फिरंगीहरु हात्ती, घोडा चढेर सिन्धुली आए । तोप पनि हात्तीमा लादेर ल्याए ।

कमला खोलाको जंघार ३२ ठाउँमा तर्नुपर्थ्यो । कति ठाउँमा खोलो नै बाटो थियो । डन्डे चौधरीले पठाएको १२० गाडा रसद कमलाको बाढीले छेकेर चाहिने बेलामा सिन्धुलीमा पुग्न सकेन ।

फिरंगीले सिन्धुलीमाढीभन्दा माथि तोप लैजान सकेन । बाटो भन्नु बाक्ले वनको बीचबाट गएको यौटा गोरेटो थियो ।  जसबाट एकपटकमा यौटा मान्छेभन्दा बढी हिंड्न सक्दैनथ्यो ।

फिरंगीका पाँच कम्पनी फौज ढुंग्रेभन्ज्याङको बाटो उकालो लागे । गढी मुन्तिरको दक्षिण पाखामा जोडको लडाई भयो । गोर्खालीले हानेको घुँएत्रोको ढुंगो टाउकोमा लागेर लोगन भन्ने फिरंगी अफिसर नराम्ररी घाइते भयो । फिरंगीको फौज भागेर फर्कियो । यो फिरंगीको पहिलो हार थियो । (जगदीश घिमिरेको पुस्तक ‘सकस’ बाट साभार)

 


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, साहित्य
ट्याग : #hot, #sindhuli gadhi


तपाईको प्रतिक्रिया दिनुहोस