Techie IT
×
गृहपृष्ठप्रदेशपर्सामा एकैदिन थपिए १५३ जना कोरोना संक्रमित

पर्सामा एकैदिन थपिए १५३ जना कोरोना संक्रमित


वीरगञ्ज, भदौ २ गते । पर्सामा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी १५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा सोमबार राति पर्साका ६८ जना तथा वीरगञ्जको नारायणी वयोधा अस्पतालका मात्रै डाक्टर, नर्स, बिरामी गरी ३० जना र वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ५५ जना गरी १५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि सङ्कलित ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएकोमा ती स्वाबहरू परीक्षण गर्दा पर्साका ६८ जना र वीरगञ्जको नारायणी वयोधा अस्पतालका डाक्टर, नर्स , बिरामीको स्वाब परीक्षण गर्दा अन्य ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय, पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको सङ्क्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जना र वयोधा अस्पताल अन्य ३० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा स्वाब दिएकामध्ये ५७ जनामा र त्रिजुद्ध माध्यमिक विद्यालयमा स्वाब दिएकामध्येबाट ११ जनामा गरी ६८ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

वयोधा अस्पतालका छ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र एक जना बिरामी गरी ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

त्यसैगरी सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५५ जनामा कोरोना पुष्टि भएको थियो । नारायणी अस्पतालबाट पुष्टि भएका सङ्क्रमितहरूमा पर्साको बहुदरमाई नगरपालिकाका २५ जना रहेका छन् । बहुदरमाई नगरपालिका वडा नं ४ बहुअरीका २० जना र वडा नम्बर ५ , ६ , ७ , ८ , ९ का एक/एक जना गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै थपिएका अन्य सङ्क्रमितमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत पाँच जना र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत दुइ जना गरी सात जना प्रहरी, नारायणी अस्पतालका एक जना चिकित्सक, एक जना ओपिडीका कर्मचारी, वीरगञ्ज महानगरपालिका वडा नं। १० मुर्ती चोकका आठ जना र वीरगञ्ज १, छपकैयका छ जना, वीरगञ्ज ४, विर्ताका तीन जना, नेशनल मेडिकल कलेजका दुइ जना, वीरगञ्ज ८, ११, १४ र १६ का एक(एक जना रहेको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए ।
टेकु प्रयोगशालाको पर्साका ६८ र वीरगञ्जको वयोधा अस्पतालका ३० जना अनि वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालाको ५५ गरी सोमबार मात्र पर्सा जिल्लामा १५३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोमबार थपिएका १५३ जना सङ्क्रमितसँगै पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार ४७४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, स्वास्थ्य
ट्याग : #Corona, #hot

प्रतिक्रिया दिनुहोस