Techie IT
×
गृहपृष्ठप्रदेशसञ्चारकर्मीसहित पर्सामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

सञ्चारकर्मीसहित पर्सामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि


वीरगञ्ज, ३२ साउन । एक जना सञ्चारकर्मीसहित पर्सामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परीक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ र बाराका दुई जना गरी ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । शनिबार साँझ सङ्क्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।

थपिएका सङ्क्रमितहरूमा वीरगञ्ज महानगरका विभिन्न वडाका १३ जना, नारायणी अस्पतालका सात जना , प्राईम फर्मा उद्योगका छ जना, नारायणी अस्पतालको आइृसियूमा उपचाररत एक पुरुष र एक महिला गरी दुई जना, एक जना पत्रकार, वयोधा अस्पतालका तीन जना कर्मचारी, पर्साकै पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना, पर्साकै बहुदरमाइ नगरपालिकाका एक जना पुरुष रहेका छन् ।

त्यस्तै सङ्क्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नं। ५ कबहीका ४० वर्षीय एक जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० वर्षीय पुरुष गरी दुई जना रहनुभएको छ ।शनिबार थपिएका ४५ जना सङ्क्रमितसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार २३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

यसैबीच शुक्रबार र शनिबार गरी दुई दिनमा पर्साको वीरगञ्जका विभिन्न कोभिड अस्पतालमा उपचाररत ७० जना सङ्क्रमितहरू कोरोना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले शुक्रबार र शनिबार गरी दुई दिनमा उपचाररत ७० जना सङ्क्रमितहरू सङ्क्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए ।

वीरगञ्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार ३४ जना गरी ७० जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको उनले बताए ।

सङ्क्रमणमुक्त हुनेमा एक जना पत्रकार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगञ्ज कारगारका प्रमुख श्रवण पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुसहित १३ जना महिला र ५७ जना पुरुष छन्। सङ्क्रमणमुक्त हुनेमा एक जना दुई वर्षे बालिका र दुई जना डाईलाईसिस सेवा लिइरहेका मिर्गौला रोगीसमेत रहेका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरी उपचारका क्रममा गरिएका पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि ती सङ्क्रमितहरूलाई सङ्क्रमणमुक्त घोषणा गर्दै अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म पर्सा जिल्लाबाट उपचारपश्चात ३०७ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस