चौतारा, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएका १३ जनाको शव फेला परेको छ, जसमध्ये ११ जनाको सनाखत भएको छ ।
शुक्रबार बिहानको पहिरोमा पुरिएका ३८ मध्ये ११ को शव निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टिकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिती दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो ।
आज बिहान थप दुई शव फेला परेको जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् । लिदी पहिरोमा हराइरहेका ३८ भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको तामाङले जानकारी दिइन् ।
‘बेपत्ता भएकाहरूको खोजी बिहानैदेखि सुरु भएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरूको खोजी सुरु गरेका छन् ।’ घाइतेहरू रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँको सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश
ट्याग : #breaking,
#hot,
#lidi,
#पहिरो,
#बाढी पहिरो,
#लिदी