गृहपृष्ठ ∕
प्रदेश ∕
बुवाको मृत्युपछि आमाले छोडेर जाँदा तीनजना बालकको बिचल्ली
बुवाको मृत्युपछि आमाले छोडेर जाँदा तीनजना बालकको बिचल्ली
डोटी २४ साउन । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको हो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन भएकी हुन् ।
स्थानीय विद्यालयमा शिक्षकसमेत रहेका दीपकबहादुर खातीका अनुसार दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेका कारण छोराहरू अलपत्र भएका छन् । उनले भने, ‘स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालबालिकाको विचल्ली भएको छ ।’
श्रीमानको मृत्यु भएको केही महिनामा नै भारतको उडिसा माइती भएकी गोमा खातीसमेत नाबालक छोराहरु छोडेर सम्पर्क विहीन भइन् । नौ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुदाँ बालबालिकाहरूलाई दैनिक छाक टार्नसमेत समस्या हुने गरेको छ । आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई समस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भए पनि छाक टार्नुपरेको छ ।
छिमेकीले दिएको खानेकुरा खाएर पेट पालिरहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था छैन । स्थानीय डबल साउदले भने, ‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोराछोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गाह्रो भएको छ ।’ स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् ।
क्याटेगोरी :
प्रदेश,
सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking,
#hot