Techie IT
×
गृहपृष्ठप्रदेशकोशीको किनारका लावती

कोशीको किनारका लावती


कोशी छेउ उभेको सिमल जति नि बाँच्दिन म
त्यही सिमल काटी बनेको डुङ्गा जति नि बाँच्दिन म

यो गीतको रचना मेघराज मञ्जुलले गरेका हुन । तत्कालीन संकल्प परिवारका रामेश श्रेष्ठले यो गीतमा संगीत भरेका हुन । उनले यो गीत बेजोडले गाउँदा कोशीको छालसँगै खेलेको महसुस गराउँछन् ।
कोशी किनारका सिमलहरु बनझाँक्री (बनमारा) हरुले धेरै मासे । कोशीको बाढीले धेरै सिमलहरु भारत निर्यात ग¥यो । तर पनि सप्तकोशी किनारमा अझै सिमलहरु छन । ती सिमलहरु मानिसका मृत्यु हेरिरहेका हुन्छन । यस्तै मृत्यु कुरेर बसेका छन् धनबहादुर लावती र तिनको मृत्युको साक्षी बन्न लालायित छन कोशी किनारका तिनै सिमल र सिमल काटी बनेका डुङ्गा ।

धनविनाका धनबहादुर :

लिम्बू समुदायमा लावती भन्नासाथ हुनेखाने वर्गका लिम्बू भन्ने हाम्रो आँखा अगाडि नाँच्दछ । यिनी भने त्यो वर्गका हैनन । नाम त धनबहादुर हो तर धनले मितेरी लाउन विर्सेका पात्र हुन । सिङ्ग नभएको गोरुलाई तिखे नाम जुराए जस्तै । लाख रुपैयाँ देख्ने हैसियत नभएकाको नाम लाखबहादुर नाम भए जस्तै ।

लावती, पान्थरको भारपाबाट जीवन निर्वाहको खोजीमा सप्तकोशी किनारमा आइपुगे । बराह नगरपालिका (महेन्द्रनगर चकरघट्टी, ठाकुरबारी) को सुकुम्वासी कित्तामा बस्दै आएका लावतीको एउटा आँखो पनि छैन । सडक बनाउँदा ब्लास्टिङमा परेर आँखो गुम भएको बताउँछन । त्यही एक आँखोको सहारामा बाँकी जीवन चलाइ रहेका छन् । डोको बुनेर निर्वाह चलाउने लावतीको एकमात्र पेशा हो । यिनले विकास र समृद्धिको कथासम्म सुन्छन तर उनलाई यी सबै दन्त्य कथा झैं लाग्छ ।

?

 

बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधैमाथि :

आधा दर्जन छोराछोरी भए पनि अहिले उनी एउटा नावालक छोरासँग दिन कटनी गर्छन । ६५ वर्षीय लावतीको बाँकी जीवनको कथा पनि यही कोशी किनारमा अभावसँगै जुझ्दै वित्ने निश्चित छ । उनी बसेको सुकुम्बासी टोलदेखि एक किमी परको बराह नगरपालिकामा विकास, समृद्धिका विकासे बहस हुन्छन ।

मानवअधिकार, वाल अधिकार, जेष्ठ नागरिक, गरिब पिछडा वर्ग, समावेशीका नाममा महिला, दलित जनजाति, आदिवासी सीमान्तकृतका बग्रेल्ती विषय मिनरल वाटरको चुस्कीसँगै छलफल हुन्छ । यता लावती र लावती जस्तै पात्रहरु कोशीको बाढीले बगाएको मुडा ज्यान माया मारेर निकाल्नमै व्यस्त हुन्छन । तिनलाई समावेशी, समानुपातिकका मुद्दाले छुनै सक्तैनन न त विकास र समृद्धिले ।
रामेशले गाएको गीतको अन्तरा झै बूढा लिम्बू लावतीको यसै यसै जीवन वितेको छ ।

माथिमाथि आकाश निलो छ
डुङ्गा मुनि नदीको दह अझै निलो छ
ती दुबैबीचको बहाना लिएको म
सेतै सेतै भई सकेँ ।

समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : प्रदेश, प्रदेश १, साहित्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस