Techie IT
×
गृहपृष्ठप्रदेशपर्सामा जिल्लाभरका लागि आजदेखि निषेधाज्ञा जारी

पर्सामा जिल्लाभरका लागि आजदेखि निषेधाज्ञा जारी


वीरगञ्ज, १९ साउन । साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा १९ साउनदेखि जिल्लाभरका लागि जारी गरिएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन १७ गते शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र रहेको निषेधाज्ञा साउन १९ गतेदेखि जारी गर्ने निर्णय गरेको हो ।

पछिल्लो परिस्थितिको विश्लेषण गर्दै कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिन थालेपछि र सङ्क्रमितको व्यवस्थापनमा समस्या भएपछि अर्को सूचना नभइञ्जेलका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

पर्सामा साउनमा मात्रै १२ जना सङ्क्रमितको मृत्यु भएको छ भने पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश सङ्क्रमितहरूलाई घरमै राखिएको छ । लक्षणसहितका सङ्क्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ ।

होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाइएको छ । पछिल्लो परिस्थितिमा सङ्क्रमण अझै फैलिनसक्ने जोखिम बढेकाले जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक कोही घरबाहिर निस्किन पाउने छैन भने शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैङ्क (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिनेछ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने साधन, अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । छिमेकी देश भारतसँग सिमाना जोडिएका नाकाहरू तथा खुल्ला सिमानाको जुनसुकै स्थानबाट मानिसको आवागमन रोकिनेछ । कोभिड १९ को सङ्क्रमण रोकथाम एवम् नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै सङ्क्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको पालना नगर्ने काममा बाधा पुर्याउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाएको सात दिन बितिसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक वस्तुको आपूर्ति बन्द रहेको र अत्यावश्यक वस्तुको आपूर्ति बन्द भएकाले आम सर्वसाधारण मर्कामा परेको गुनासो आएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। जनै पूर्णिमाअघि बजार खोल्दा भिडभाड बढी हुने र सङ्क्रमण फैलने जोखिम भएकाले जनै पूर्णिमापछि आवश्यक प्रबन्ध मिलाउने तयारी गरिएको उनले बताए ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, स्वास्थ्य
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस