Techie IT
×
गृहपृष्ठप्रदेशपृथ्वी राजमार्गको दुई सय स्थानमा पहिरो

पृथ्वी राजमार्गको दुई सय स्थानमा पहिरो


चितवन, ६ साउन । भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ ।

डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारीले अहिले पनि राजमार्गमा दुई सयभन्दा बढी ठूलो साना पहिरो खसिरहेकाले राजमार्ग सफा गर्न समय लाग्ने बताए ।

“वर्षासँगै पहिरो झर्ने क्रम जारी रहेकाले सडकमा झरेको पहिरो सफा गर्न समस्या भइरहेको छ”, उनले भने, “नारायणगढ–मुग्लिन सडकमा त मङ्गलबार रातिसम्म यातायात सञ्चालनमा ल्याउन सकिन्छ कि भनी काम गरिरहेका छौँ । पृथ्वी राजमार्ग त आज (मङ्गलबार) पनि सञ्चालन गर्न सकिदैन ।”

पृथ्वी राजमार्गमा पाँच ठाउँमा ठूलो पहिरो खसेको पनि उनले जनाए । धादिङ र चितवनको सीमाक्षेत्रमा रहेको पोवा खोलामा त सडक नै पहिरोले बगाएको छ भने पुलमा पनि क्षति पुगेको छ । पुलसँगै रहेको एप्रोज सडकको करिब १२ मिटर सडक बाढीले बगाउँदा पुलमा क्षति भएको हो । अहिले त्यस स्थानमा सडक अवरुद्ध भएको इन्जिनियर शिव खनालले बताए ।

यस्तै, पृथ्वी राजमार्गकै धादिङ महादेवबेँसीमा चार मिटर चौडाइमा ३० मिटर सडक त्रिशुली नदीतर्फ भासिएको छ । यो ठाउँमा पनि अहिले दुई मिटर मात्रै सडक रहेकाले यातायात सञ्चालन गर्न सकिने अवस्था नभएको डिभिजन प्रमुख अधिकारीले बताए । यसका अलावा पृथ्वी राजमार्गको जोगीमारा, फुर्के खोला, विशालटार, जवान खोला, पौवा खोला, चुम्लिङ्टारलगायत क्षेत्रमा ठूलो पहिरो छ । अन्य धेरै ठाउँमा अहिले पनि पहिरो झरिरहेको छ ।
यस्तै, नारायणगढ(मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा पनि सडक भासिएको छ । नौ मिटर चौडाईमध्ये पाँच मिटर सडक त्रिशुलीमा भासिएपछि यहाँ चार मिटर मात्रै सडक बाँकी छ । यहाँ एकोहोरो सडक सञ्चालन गर्न सकिने अवस्था भएको बताइन्छ ।

यस्तै, नारायणगढ(मुग्लिन सडककै नारायणगढ(मुग्लिन सडकको चार किलो र चोर खोलामा अहिले पनि पहिरो खस्ने क्रम जारी छ । दुवै राजमार्गमा पहिरो खस्ने क्रम जारी रहेकाले सो राजमार्गको विकल्प खोज्न सर्वसाधारण यात्रुहरूलाई आग्रह गरिएको छ ।

वर्षा जारी रहेकाले पहिरो पन्छाउन नसक्दा आज पनि राजमार्ग खुला गर्न नसकिने भएकाले वैकल्पिक सडक प्रयोगमा ल्याउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आग्रह गरे। “पानी लगातार परिरहेकाले पहिरो पन्छाउन गाह्रो भएको छ” उनले भने । तराईका जिल्लाहरूबाट काठमाडौँ जानुपर्ने यात्रुले वैकल्पिक रुपमा हेटौँडाबाट जाने विभिन्न सडकहरू प्रयोग गर्न सकिने बताइन्छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #hot, #landslide, #पहिरो, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस