Techie IT
×
गृहपृष्ठप्रदेशबैतडीमा मौसम जानकारी दिने उपकरण जडान

बैतडीमा मौसम जानकारी दिने उपकरण जडान


बैतडी, ३१ असार । बैतडीमा मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान गरिएको छ । उपकरणले प्रत्येक दिन र घण्टाको वर्षा, हावाहुरी, घाम, पानी, बादल र तापक्रम मापन गरेर मोबाइएल एपमार्फत् जानकारी उपलब्ध गराउने छ ।

बैतडीको दशरथचन्द नगरपालिका १, गुरुखोलास्थित सतबाँझ सुख्खा फलफूल विकास केन्द्रमा जडान गरिएको मौसमसम्बन्धी जानकारी दिने उपकरण खासगरी कृषि क्षेत्रलाई मध्यनजर गरेर जडान गरिएको हो ।

कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणले दैनिक वर्षा, हावाहुरी, असिनापानी, तापक्रम, आद्रता, घाम, बादल र सोलार रेडिएसनसम्बन्धी जानकारी उपलब्ध गराउने कृषि विकास निर्देशनालयका चुडामणी पनेरुले बताए ।

कृषि विकास निर्देशनालय दिपायलले यो वर्ष सुदूरपश्चिमका सात ठाउँमा मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान हुने जानकारी दिएको छ । कृषि विकास निर्देशनालय दिपायलका अधिकृत श्याम जोशीका अनुसार बैतडीको सतबाँझ सुख्खा फलफूल विकास केन्द्र र गोकुलेश्वर कृषि क्याम्प बैतडी, डडेल्धुराको तरकारी बीउ उत्पादन केन्द्र घटाल, कैलालीको टीकापुर प्राविधिक शिक्षालय, कञ्चनपुरको कृषि ज्ञान केन्द्र, बझाङको कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालय दिपायलमा मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान हुनेछन् ।

कृषि क्षेत्रका लागि उपयोगी मानिएको मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान भएपछि ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी हरेक दिन र प्रत्येक घण्टाको मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकोले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने बताइएको छ ।
मौसमसम्बन्धी जानकारी दिने उपकरण जडानमा एक ठाउँका लागि करिब चार लाख रुपियाँ खर्च भएको कृषि विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ । यो उपकरण ईन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।


क्याटेगोरी : प्रदेश, सुदूरपश्चिम प्रदेश, विज्ञान


तपाईको प्रतिक्रिया दिनुहोस