Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठEnglishसभापतिका लागि आफूलाई पुग्ने मत जुटाउँदै देउवा

सभापतिका लागि आफूलाई पुग्ने मत जुटाउँदै देउवा

अंक गणितको राजनीतिमा गच्छदार पनि बलिया खेलाडी


काठमाडौं । आगामी १४ औं महाधिबेशनमा आफूलाई पुग्ने मत जुटाउने हिसाव कितावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युद्ध स्तरमा जुटेका छन् । नेपाली कांग्रेसको महाधिबेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ । यो मिति आउन अब लगभग सात महिना बाँकी रहँदा दुवै पक्ष सघन रुपमा जुटेका छन् ।

महाधिबेशनका क्रममा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि सभापति पदमा चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । कसैको पनि ५० प्रतिशत नकटे पहिलो हुने र दोस्रो हुनेबीच फेरि प्रतिस्पर्धा गरिन्छ । त्यसैले ५० प्रतिशत मत पुर्याउने गृहकार्यका सभापति देउवा अहिलेदेखि नै जुटेका हुन् ।

यसका लागि महाधिबेशन प्रतिनिधि चयनमै ठूलो खेलोफड्को हुने गरेको छ । आफ्नो पक्षमा बढी महाधिबेशन प्रतिनिधि ल्याउनका लागि संस्थापन पक्षलाई जति सहज छ इतर पक्षलाई त्यति नै असहज हुन्छ । यो सहजताको फाइदा बहालवाला सभापति शेरबहादुर देउवाले लिएका छन् । महाधिबेशनमा करिव ८० प्रतिशत प्रतिनिधि प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउँछन् । बाँकी २० प्रतिशत प्रतिनिधि भ्रातृ तथा शुभेच्छुक संघ संगठन, विदेशस्थित जनसम्पर्क समिति तथा बहालवाला केन्द्रीय सदस्यहरु हुने गर्दछन् । मनोनित केन्द्रीय सदस्यले त देउवालाई स्वतः मत दिने भइहाले ।

भ्रातृ तथा शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिहरुबाट पनि देउवाको पक्षमा एकलौटी हुने संभावना देखिएको छ । यी संस्थाहरुमा देउवाले करिव करिव एकलौटी बनाई सकेका छन् । बाँकी ८० प्रतिशतमध्ये करिव ३५ प्रतिशत मत हासिल गरे भने पनि देउवाको पक्षमा स्पष्ट बहुमत पुग्छ । यसका लागि पनि देउवाले सुरक्षित रणनीति बनाएका छन् । हालै उनले चार सय २९ सदस्यीय जेष्ट नागरिक सभा गठन गरेका छन् । यसमा पनि करिव करिव देउवाको सोलोडोलो छ । यी चार सय २९ मध्ये ८० प्रतिशत भन्दा बढीले महाधिबेशन प्रतिनिधि निर्वाचित भएर आउने हैसियत राख्छन् ।

त्यसैगरी ४१ वटा विभाग तथा सातै प्रदेशस्तरीय समिति गठनको तयारीमा सभापति देउवा छन् । करिव चार हजार नेता तथा कार्यकर्ताहरुले विभाग तथा प्रदेश समितिमा भूमिका पाउँछन् । उनीहरुमध्ये १० प्रतिशत मात्रै महाधिबेशन प्रतिनिधि निर्वाचित भएर आए भने पनि देउवाको पक्षमा बहुमत पुग्छ । यसैगरी पार्टी एकीकरणका क्रममा समाहित भएको विजयकुमार गच्छदार समूहले पनि पहिलो पटक भएकोले २–३ सय महाधिबशेन प्रतिनिधि पाउने अवस्था छ ।

सुनिल थापाको नेतृत्वमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेको समूहले पनि २–३ सय महाधिबेशन प्रतिनिधि पाउने संभावना छ । यस बाहेक विभिन्न पार्टी छाडेर प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको संख्या नेपाली कांग्रेसमा उल्लेख्य छ । यस्तो मत संस्थापन पक्षले नै पाउने बढी संभावना रहन्छ । त्यसैले सभापति देउवाले आफूलाई सुरक्षित महसुस गरेका छन् । सामान्यतया बहालवाला सभापति चुनाव हार्ने गरी उम्मेदवार बन्दैन । जित्ने निश्चित भएपछि मात्रै उमेदवारी घोषणा गर्छ । तर, सभापति देउवाले आफ्नो क्याम्पभित्र फेरि उम्मेदवार बन्ने जानकारी दिइसकेका छन् । देउवाले सुरक्षित महसुस गरिसकेको अनुमान यसैका आधारमा गरिएको छ ।

गत १३ औं महाधिबेशनमा देउवाले विमलेन्द्र निधिलाई भावी सभापतिको वचन दिएका थिए, तर यसपटक भने उनले रणनीति बनाउँदा उपसभापति निधिलाई वास्ता नै गरेका छैनन् । निधि र गच्छदारमध्ये एउटालाई रोज्नु पर्ने र एउटालाई फाल्नु पर्ने वाध्यता सभापति देउवालाई छ । दुवै जना उपसभापति भन्दा तल्ला पदमा चुनाव लड्न मिल्दैन । उपसभापतिका दुई मात्रै कोटा छन् । दुवै कोटामा मधेसी समुदायका नेतालाई समावेश गर्दा प्रत्युत्पादक हुन्छ भन्ने देउवाले बुझेका छन् । तर यी दुईमध्ये एक जना रोज्न देउवाका लागि धेरै नै कठिन अवस्था छ । गच्छदारसँग भोट बैंक छ, निधिसँग इमेज छ ।

उपसभापतिमा ठाउँ नपाए सभापतिमै चुनाव लड्ने हैसियत निधिले राख्छन् । यदि निधि सभापतिको उमेदवार बने भने देउवा सिधै धरापमा पर्नेछन् । उता गच्छदार विरुद्धमा लागे भने पनि देउवालाई चुनाव जित्न सहज हुँदैन । चुनावी अंक गणितको राजनीतिमा गच्छदार पनि बलिया खेलाडी हुन् । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : English, राजनीति
ट्याग : #landslide, #sher bahadur deuba

तपाईको प्रतिक्रिया दिनुहोस