Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारनेकपामा बिचौलिया निर्णायक

नेकपामा बिचौलिया निर्णायक


आवरणमा हेर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एउटा सिङ्गो देखिन्छ । किनभने एकीकृत पार्टी छ । ‘हेभी वेट’ शीर्ष नेताहरुको मण्डली नै छ । दुई/दुई जना अध्यक्ष छन् । पार्टी नै दुई तिहाई बहुमतको सत्तामा छ, स्थानीय तहदेखि केन्द्रसम्म । पद्धतिसङ्गत हिसाबमा हेर्दा केन्द्रीय समिति, स्थायी समिति, सचिवालय, प्रदेश, जिल्ला र वडा तहसम्मको कमिटी प्रणाली छ । समग्रमा पार्टी ठीकठाक र सग्लो नै देखिन्छ । लाखौं पार्टी सदस्यहरु त छदैंछन् ।

तर, सतहमा जे देखिन्छ त्यसको ठीक विपरीत अवस्था छ नेकपाभित्रको आन्तरिक पार्टी सञ्चालन प्रक्रियादेखि सरकार पार्टी सम्बन्धका अनेक सन्दर्भमा यतिबेला । बडा दुःखका साथ भन्नुपर्छ, नेकपा यतिबेला मुट्ठीभर बिचौलियाहरुको चङ्गुलमा फसेको छ । पार्टी सञ्चालन बिचौलियाहरुको हातमा पुगेको छ । शक्तिशाली बिचौलियाहरुले नै नेता बनाउने, उनीहरुलाई शक्तिमा पु-याउने, पार्टीमा हावी गराउने र उनीहरुबाट अन्ततः बिचौलियाहरु नै निर्णायक र आफै मात्रै लाभान्वित हुने गलत अभ्यास बढेको छ । अझ नेकपाका दुई अध्यक्षहरु नै यस्ता बिचौलियाहरुद्वारा निर्मित, पालितपोषित नेताहरुको घेराबन्दीमा पर्ने र अनिर्णयको बन्दी हुने वा विवेक भुलेर आवेगी निर्णयमा केन्द्रित हुने गलत परम्पराबाट नेकपा सिथिल हुँदै गएको छ ।

कम्युनिष्ट पार्टीको जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक कार्यप्रणाली यतिबेला कितावमा सीमित छ । औपचारिक कमिटीहरु ‘शो पिस’ र निर्णयहरु बिचौलियाका ‘ग्राण्ड डिजाइन’ अनुसार हुन थालेका छन्, भइरहेका छन् । पछिल्लो समय स्थायी समिति वैठक सुरु भएकै महिना दिन हुन लागिसक्यो तर निर्णय र निकास दिन सकिरहेको छैन । दुई अध्यक्ष बीचको भेटवार्तामा हुने उतारचढावहरुको निशानामा आधा दर्जन भन्दा बढी पटक स्थायी समिति वैठक स्थगनको मारमा पर्दै आएको छ । स्थायी समितिलाई छलेर निर्णय लिन खोज्ने आत्मघाती अभ्यासहरु जोडतोडका साथ भइरहेका छन् ।

यस्तो बेलामा दुई अध्यक्षहरु आआफ्ना सहयोगीको सहारामा एकआपसका गुट बलियो पार्ने रणनीतिलाई बढावा दिइरहेका छन् । पाँच नम्वर प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरल प्रधानमन्त्री र राष्ट्रपति कार्यालयमा दुई अध्यक्षबीच हुने वार्ताहरुका सहजकर्ता र सहयोगी बनिरहेका छन् । जनार्दन शर्मा र वर्षमान पुन तथा विष्णु पौडेलहरु दुई अध्यक्षबीचका वार्ताहरुका साक्षी बनाइदैं छन् । जबकि यी सीमित नेताहरुलाई यसरी दुई अध्यक्षबीचका वार्ताहरुमा बस्ने, सहजीकरण गर्ने वा एकताका लागि भूमिका खेल्ने न वैधानिक पार्टी कमिटीहरुको म्याण्डेट छ न त यस्ता पात्रहरुको योग्यता नै सिङ्गै पार्टी नेतृत्व र कमिटीहरुलाई बाइपास गरेर कुरा मिलाउन सक्ने खालको नै छ । तर, पनि यस्ता पात्रहरु नै हावी हुँदै/गराइदैं आएका छन् ।

दीपक भट्ट नामक एक पात्र नेपालको जलसम्पदा र ऊर्जा क्षेत्रका शक्तिशाली नटवरलाल हुन् । उनी सदावहार शक्तिमा रहन्छन, मन्त्रीहरुलाई रिझाएकै भरमा । उनले वहालवाला ऊर्जामन्त्री वर्षमान पुनलाई हातमा लिएर अहिले पनि ऊर्जा मन्त्रालयका नीति निर्माणदेखि ठूलठूला आयोजना/परियोजनाहरु कार्यान्वयनसम्मको ठेकेदारी चलाइ रहेका छन् । सिधा भाषामा भन्दा मन्त्रीको कुर्सीमा वर्षमान छन, नेपथ्यका मन्त्रीमा दीपक भट्टको हालीमुहाली छ । जनार्दन शर्मा मन्त्री हुँदा पनि भट्टकै रजगज थियो ऊर्जा मन्त्रालयमा । विष्णु पौडेलको त दीपक भट्ट लामो समयदेखि पारिवारिक सदस्य जस्तै छन् ।

बडो ताजुब लाग्दो तथ्य के छ भने, उनै दीपक भट्टका ‘यस म्यान’ हरु विष्णु पौडेल, जनार्दन शर्मा, वर्षमान पुनहरु नेकपाको वर्तमान सङ्कट पार लगाउने सरथिका रुपमा काइते शैलीमा जबर्जस्त उभिएका छन्, उभ्याइएका छन् । दुई अध्यक्षहरु यस्तै बिचौलिया निर्देशित पात्रहरुलाई वैशाखी बनाएर संकट मोचनको भ्रम पालिरहेका छन् । विधि, पद्धति र पार्टी कमिटी प्रणाली समेतलाई बाइपास गरेर, चलिरहेको स्थायी समिति वैठकलाई स्थगन गरेर यस्ता बिचौलियाद्वारा परिचालित नेताहरुको सहारामा वार्ता गर्नुपर्ने वाध्यता के छ दुई अध्यक्षहरुलाई ? नेकपाका एकता र उज्ज्वल भविष्यका लागि रगत पसिना बगाएका र जीवन सुम्पेका देशभरका तमाम नेता, कार्यकर्ताको मूल नेतृत्व समक्ष यक्ष प्रश्नहरु यिनै र यस्तै हुन् । दीपक मल्होत्रा ‘आयोजक’ बनेर जनार्दन शर्माको घरमा बिहेवारी चल्ने, अनि उनै शर्मा दुई अध्यक्ष मिलाउने ठेकेदार बन्ने जस्तो विचित्र स्थिति नै नेकपाको उल्टो गतिका उदाहरणहरु हुन् ।

अहिले नेकपाको संकटमा दुई अध्यक्षहरुले विवेकसम्मत निर्णय लिन नसकेर गुटको भरमा चल्ने अभ्यास नै मूल समस्या हो । आआफ्ना गुुटहरुको सुदृढीकरणमा बितेको समय खेर फालेका दुई अध्यक्षले अब त जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक प्रणाली, पार्टी निर्णय पद्धतिमा फर्कन र आफू भन्दा पार्टीमाथि गर्ने अभ्यासलाई अङ्गीकार गर्ने अग्रसरता किन देखाउन सक्तैनन् ?

प्रधानमन्त्री भर्सेज प्रचण्ड बनेर आवरणमा देखिएको नेकपाभित्रको विद्यमान विवाद पार्टी प्रणालीलाई अस्वीकार गर्नुको साङ्गोपाङ्ग परिणाम हो भन्ने ‘ओपन सेक्रेट’ हो । यसको अन्त्य पहिले दुई अध्यक्ष नै पार्टी विधान, प्रणाली र निर्णय प्रक्रियाद्वारा निर्देशत हुन मञ्जुर हुनु नै हो । तर, जब मूल नेतृत्व नै बिचौलियाद्वारा परिचालित पात्रहरुको सहारामा चल्न रमाउँछन भने पक्का छ, नेकपा आफ्नै नेतृत्वको कमजोरीका कारण खाल्डोमा जाकिन्छ ।

आफ्नो शक्ति बिर्सने वा भुल्ने र परायाहरुलाई आफ्नो सम्झेर भुलभुलैयामा चल्ने रोगबाट ग्रसित हुँदा नेतृत्व कतिसम्म कमजोर र निकम्मा साबित हुन्छ भन्ने तथ्यका उदाहरण अध्यक्ष प्रचण्ड नै छन् । प्रचण्डले जननायक विपी कोइरालाले दुई/दुई पटक अघि बढाएको सशस्त्र संघर्षलाई तार्किक निश्कर्षमा पु¥याउन नसकेको नेपाली क्रान्तिको पृष्ठभूमिमा १० वर्षे जनयुद्धको सफल नेतृत्व गरे । उनकै प्रमुख नेतृत्वमा देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पु-याए । जननिर्वाचित निकाय मार्फत गणतन्त्रलाई केन्द्रदेखि वडासम्म स्थापित गराउन मुख्य नेतृत्व गरे । नयाँ संविधान मार्फत त्यसलाई संस्थागत र वैधानिकता दिलाए । इतिहासमा गणतन्त्रका मुख्य सूत्राधार वा मुख्य नेतृत्व प्रचण्ड नै हुन भन्ने कुरा तथ्यमा आधारित सत्य हो ।

तर, मोहन वैद्य ‘किरण’, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किराँती जस्ता कैयन आफ्ना जनयुद्धकालीन प्रभावकारी सारथिहरुलाई गणतन्त्रकालीन नेपालमा आफूसँगै राख्न र हिंडाउन नसक्दा अहिले प्रचण्ड डुब्दो नाउलाई सिन्कीको सहारा भने झै दीपक भट्टहरुद्वारा प्रवद्र्धित वर्षमान पुन प्रवृत्तिको भर परेर चल्नुपर्ने वाध्यतामा परेका छन् । हो, यही प्रसङ्ग अहिलेको नेकपाको मूल नेतृत्वलाई सबक सिक्ने र सच्चिने प्रणका लागि काफी ज्वलन्त उदाहरण हो । मूल नेतृत्वले आफ्नो उद्गम भूमि र सारथि बिर्सिदै जाने हो भने आन्दोलन मात्रै होइन नेतृत्व पनि घर न घाटको हुने गरी कमजोर हुन्छ भन्ने तथ्य हिजोको प्रचण्ड र आजको प्रचण्डलाई तुलना गर्दा दिनको घाम जत्तिकै छर्लङ्ग हुन्छ ।

यो प्रसङ्ग वर्तमान नेकपाको हकमा ठयाक्कै किन मेल खान्छ भने अहिलेको नेकपा तत्कालीन नेकपा एमाले र माओवादीको अन्तरघुलनको परिणाम हो । ७० वर्ष लामो वाम आन्दोलन र सङ्घर्षको उपज हो । यो नेता विशेषको लहड र महत्वाकाङ्क्षाको उपज होइन । वर्तमान नेकपाले पाएको दुई तिहाई बहुमतको जनादेश पनि कम्युनिष्टहरुको सत्ताबाट जनताको जीवनमा आमूल परिवर्तन र समृद्धिकै लागि जनताको नासो हो ।

तर, आफ्नालाई भुल्दै जाने, विधि/पद्धति त्याग्दै जाने अनि बिचौलियाहरुबाट घेरिदै जाने मूल नेतृत्वको कमजोरी नै अहिले नेकपालाई नेता केन्द्रित र पद्धतिविहीन बनाउने मूल समस्या बनेको छ । त्यसैले नेता होइन, नीति प्रधान हुने प्रण अब नेकपाको मूल नेतृत्वले भाषणमा होइन, एक्सनमा नै उदाहरणका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । यही नै नेकपाको संकटमोचनको एकल मार्ग हो ।

बिचौलिया प्रवृत्तिको घेराबन्दीमा परेर अहिले गणतन्त्रको प्रतिक राष्ट्रपति संस्थालाई पार्टी विवादका प्रसंग मिलाउने मध्यस्थताकर्ताका रुपमा देखाउने र बदनाम गराउने जुन नाङ्गा हर्कतहरु भइरहेका छन्, ती भोलि होइन, आज, आज होइन, अहिले समुल अन्त्य गराउनु आवश्यक छ । किनभने राष्ट्रपति विद्या भण्डारीको पदीय मर्यादा र हैसियत अनि भूमिका जनार्दन शर्मा, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेलहरुलाई दायाँबायाँ राखेर केपी ओली र प्रचण्डलाई एकताका लागि ‘रोडम्याप’ दिने र निर्देशित गर्ने होइन, हुनु हुँदैन । यसले संविधान, व्यवस्था र राष्ट्रपति संस्थाको गरिमा, ओझ र बोझलाई धुलोमा मिलाउने मात्रै होइन, राष्ट्रपति संस्था पनि अन्ततः दीपक भट्टहरु जस्ता बिचौलिया प्रवृत्तिबाट परिचालित भएको प्रमाणित हुन्छ । यो जनताको वलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्खलित र असफल पार्ने आत्मघाती हर्कत मात्र हो ।

सत्तामा भएका कारण केपी ओलीले अनि नेकपाको एकतादेखि गणतन्त्रका सूत्रधार नायक हुनुका नाताले प्रचण्डले नै अब त्याग गर्ने र विवेक देखाएर पार्टी एकता पनि जोगाउने, सरकारलाई पनि सफल बनाउने र बिचौलियाको घेराबन्दीमा परेर होइन, शहीदहरुको त्याग र बलिदानलाई साक्षी राखेर उदार निर्णय लिने बेला आएको छ । पहिले, ओली र प्रचण्ड आफ्ना सीमित घेराबाट माथि उठे भने निर्णय गर्न सजिलो हुनेछ । पहिला र ओली र प्रचण्डको मूल नेतृत्वको आन्तरिक रुपान्तरण नै अहिलेको नेकपाको संकट समाधानको प्रस्थान विन्दु हुनेछ । के यसका लागि ओली र प्रचण्ड बिचौलिया र गुट मुक्त हुन तयार छन त ? समयबद्ध साप्ताहिकबाट

यो पनि पढ्नुहोस,

नेकपाको बहस : गुटको सुदृढीकरण कि पार्टी निर्माण र समाजवाद गन्तव्य ?

प्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई सधैं काखमा राख्नैपर्ने ?

दुई अध्यक्षलाई उक्साउने, जुधाउने र लडाउने को हो ?


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार