Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग : एमालेका तीन मन्त्रीले तत्कालै राजीनामा दिने

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग : एमालेका तीन मन्त्रीले तत्कालै राजीनामा दिने


सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा दिने भएका छन् । यो निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।

शाहीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिए पनि एमालेको माधव नेपाल समूहका सांसदले समर्थन यथावत् नै रहेको बताउँदै आएका थिए । अब नेपाल समूहले पनि मन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका हुन् ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने विषयमा दबाब बनेपछि उनीहरुले राजीनामा दिने भएका हुन । अहिले कर्णाली प्रदेशमा माधव नेपाल समूहका तीन मन्त्री सरकारमा सहभागी छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

यही चैत ५ गतेदेखि लागू हुने गरी एमालेले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । त्यस बैठकमा एमाले अध्यक्ष ओली समूहका सांसद मात्रै सहभागी भएका थिए । आइतबार बसेको बैठकमा एमालेका १९ सांसद सहभागी थिए । कर्णालीमा सभामुखसहित एमालेका २० सांसद छन् ।

यस्तै शनिवार बसेको बैठकले दलको विधान निर्माणका लागि समिति बनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मीना रखाल सदस्य भएको कार्यदल बनाइएको हो । एमालेले समर्थन फिर्ता गरिसकेकाले प्रदेश सरकारलाई मार्ग प्रशस्त गर्नका लागि निर्णयसमेत गरेको छ । यस कारण पनि कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता गर्न एमालेका सांसद एकढिक्का भएका छन् ।

यस्तै बैठकले एमालेलाई एकताबद्ध गराउन पार्टी अध्यक्षसहित नेताहरुलाई एकताबद्ध अभियान अघि बढाउन अनुरोध पनि गरेको छ ।

 


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #hot, #nekapa amale, #nekapa maobadi kendra

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)