पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आक्रमण गर्न सक्थेँ : सरिता गिरी

काठमाण्डौ, २३ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उनले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन् । उनले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै त्यो मन्तव्य संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराइन् ।
सांसद गिरीले त्यो अभिव्यक्तिलाई आधार मानेर कानुनी कारबाही अघि बढाउन सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण पनि गराइन् । उनले नाम उल्लेख नगरिकन सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई ‘घृणाको मन्तव्य’ को संज्ञा दिइन् ।
उनले भनिन्, ‘जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए । मेरो अनुपस्थितिमा संसदका एक माननीयजीले जुन मन्तव्य दिनुभयो, त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई ‘हेट स्पीच’ भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो । मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आक्रमण गर्न सक्थेँ । साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो । म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपूर्ण ढङगले आफ्नो भनाइ राख्छु । म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारबाहीको लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’
उनले चाँदीको चम्चामा कसैले सभासद पद नदिएको भन्दै सबैले आ–आफ्नो पदीय मर्यादामा रहेर अरुसँग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताइन् ।
सांसद अमृता देवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य दिँदै गङ्गा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफ माग्नुपर्ने तर्क गरिन् ।उनले भनिन्,१९ गतेको बैठकमा माननीय गङ्गा चौथरीलेले प्रयोग गर्नुभएको शब्दप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । म स्पष्ट रुपमा भन्न चाहन्छु, माननीय गङ्गा चौधरीले माफी माग्नुपर्छ ।
क्याटेगोरी : संसद
प्रतिक्रिया