Techie IT
×
गृहपृष्ठसंसदमसँग ६४ प्रतिशत बहुमत छ, संसद विघटनको रिट सर्वोच्चले खारेज गर्नुपर्छ : ओली

मसँग ६४ प्रतिशत बहुमत छ, संसद विघटनको रिट सर्वोच्चले खारेज गर्नुपर्छ : ओली


काठमाण्डौ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ६४ प्रतिशत बहुमत रहेको दाबी गरेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले संविधानमा उल्लेखित प्रावधानअनुसार नै आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको बताएका हुन् । प्रतिनिधिसभा विघटन भइसकेपछि मनगढन्ते कुरा गरेर नहुने भन्दै उनले अब कुनै पनि हालतमा प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताए।

अब बाँकी रहेको ३६ प्रतिशतलाई ५१ प्रतिशत बनाउन निकै गाह्रो भएको भन्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने तर्क गरे । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेको भन्दै उनले त्यसमा राष्ट्रपतिलाई विवादित बनाउन नमिल्ने बताए ।

अहिलेको सरकार संविधानको धारा ७६ को १ अनुसार बनेको सरकार भएको भन्दै उनले जति कराए पनि जति चिच्याएपनि प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताए ।

प्रधानमन्त्रीले विघटनको सिफारिस गर्न पाउँदैन भन्ने कुरा संविधानमा कहीँ पनि उल्लेख नभएको भन्दै उनले यो राजनीतिक विषय भएकाले सर्वोच्चले आफूले गरेको निर्णयविरुद्ध परेका सबै रिटलाई खारेज गर्नुपर्ने बताए । उनले प्रतिनिधि सभा विघटनको विरोधमा रहेका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाको पनि आलोचना गरे । साथै प्रधानमन्त्रीले अदालतलाई दबाबमा पार्न नहुने बताए ।

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गर्नु आफ्नो राजनैतिक निर्णय भएको जिकिर गरेका थिए ।

प्रतिनिधि सभा विघटनपछि पहिलो पटक राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा ओलीले सरकारलाई आफ्नै पार्टीका नेताले काम गर्न नदिएको आरोप लगाए । ओलीले केही व्यक्तिको पदलोलुपताले अलोकतान्त्रिक जालझेल, तिकडमले  राजनीतिलाई अस्थिरता तर्फ डो¥याउन खोजेको भन्दै त्यसकोअन्त्य गर्दै मुलुकमा स्थिरता कायम गर्न संसद विघटन गरेको ओलीले दाबी गरेका छन ।।

उनले पाँच वर्ष सरकार टिकोस् भन्ने जनताको इच्छा थियो त्यसको निम्ति आफूले धेरै प्रयत्न गरेको पनि सम्बोधनको क्रममा व्यक्त गरेका छन् । ओलीले कसैको नाम नलिईकन यो सरकारको विरुद्धमा वैशाख १३ देखि पुस ४ सम्म २ सय ८० वटा बैठक एक नेताको घरमा र ३५ वटा बैठक अन्यत्र बसेको आरोप लगाएका छन् ।

ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्नो कार्यकालमा जस्तो अरु कुनै पनि सरकारका बेला काम नभएको दाबी गरेका छन ।

मन्त्रीपरिषदको सर्वसम्मत निर्णयबाट प्रतिनिधि सभा विघटन गरेको ओलीले दावि गरेका छन् । ‘केही साथीले यसरी हुन्छ र ! भन्नुभएको थियो मैले कन्भिन्स गरेपछि मान्नु भयो, निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्’ उनले भने ।

मन्त्रिपरिषद्को प्रतिनिधिसभाको विघटनको निर्णय गरेसँगै ओली क्याविनेटमा रहेका सात मन्त्रीले राजीनामा दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहका सदस्यहरुले आइतवारको राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका थिए । प्रधानमन्त्री बैठकमा सहभागी हुने भएपछि प्रचण्ड-नेपाल समूहका सदस्यले बैठक बहिष्कार गरेको राष्ट्रिय सभाका सदस्य वेदुराम भुषालले जानकारी दिए।

 


क्याटेगोरी : संसद
ट्याग : #breaking, #hot, #kp oli


तपाईको प्रतिक्रिया दिनुहोस