Techie IT
×
गृहपृष्ठसंसद“ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई कागजको खोस्टा मात्रै बनाए”

“ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई कागजको खोस्टा मात्रै बनाए”


काठमाण्डौ, २४ पुस । नेकपा प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदका लागि संविधान र पार्टी एकता मान्दिनँ भन्न नपाइने बताउका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई कागजको खोस्टा मात्रै बनाउन लागेको आरोप लगाए ।

उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास पनि व्यक्त पनि गरे । नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्तासमेत रहेका श्रेष्ठले प्रधानमन्त्री ओलीले चाहे सच्चिने अवसर रहेको र ओली आए फेरि एकताबद्ध भएर अगाडि बढ्न सकिने बताए ।

नेता श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला सुरु हुने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उनले भने “अहिले पनि अवसर छ, म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, त्यो असंवैधानिक घोषणाप्रति आत्मालोचना गर्दै प्रतिनिधि सभा पुनर्संरचना होस् भन्ने दिशातर्फ प्रधानमन्त्री आउनुभयो भने नयाँ सिलसिला सुरु हुन्छ ।”

प्रतिनिधिसभा विघटनको कदम फिर्ता लिए संविधान पनि ‘ट्र्याक’मा रहने तथा लोकतन्त्रको रक्षा हुने मात्र नभई एकीकृत कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई अगाडि बढाउने सम्भावना रहेको उनले बताए । उनले लोकतन्त्रको विकास गरी समृद्ध नेपाल बनाउँदै राजनीतिलाई सफा बनाएर विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा अगाडि बढाउनुपर्ने औँल्याए ।

पुर्खाको सपना साकार गर्न र जनताको अधिकार स्थापित गर्नका विगतमा सङ्घर्ष गर्नुपरेको घटना स्मरण गर्दै नेता श्रेष्ठले लोकतन्त्रको विकास, संविधानका कमजोरी सुधार, सामाजिक–आर्थिक रुपान्तरणका साथ शिक्षा, स्वास्थ्य, रोजगारलगायत सबै मौलिक हकको प्रत्याभूति गरेर नागरिकलाई परिवर्तनको अनुभूति गराउने दिशामा अगाडि बढ्न पनि आग्रह गरे ।


क्याटेगोरी : संसद
ट्याग : #breaking, #narayankaji, #nekapa


तपाईको प्रतिक्रिया दिनुहोस