बागलुङ, भदौ १९ गते । बागलुङको विकट क्षेत्र ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा बुधबार मध्यरातमा भुजीखोलाको बाढीले तटीय क्षेत्रको उठीबास लगायो ।
मध्यरातमा उर्लेर आएको बाढीले भर्खर धर्ती टेकेको पन्ध्र दिने बच्चासहित ३८ जनालाई बेपत्ता बनायो । कुल ४१ बेपत्तामध्ये तीन जना सकुशल सम्पर्कमा रहे , १४ जनाको शव फेला परेको छ भने २४ अझै बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जिल्ला सदरमुकामदेखि गएका युवाहरूले बिहीबार दिनभर र शुक्रबार बिहानसम्म बेपत्ताको खोजी गर्दा पनि थप बेपत्ता भेटिएका छैनन् ।

जे जति भेटिएका छन्, सबै मृत अवस्थामा फेला परेका छन् । मृतकको शव कसैको आफ्नै घर छेउमा भेटिएको छ भने कसैको खोलाले बगाउँदा गुल्मीको मुसिकोट नगरपालिका–५ इन्द्रगौडा पुर्याएको छ । मृत अवस्थामा फेला पर्नेहरूको कसैको खुट्टा, कसैको कम्मरसम्मको भाग त कसैको हात, कसेको टाउको मात्रा फेला पर्दा स्थानीय तथा प्रहरीलाई शव पहिचानमा कठिन भएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रहरीले १४ जनामध्ये चार जनाको मात्र सनाखत गरेको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक, लाकुरीबोटका ४६ वर्षीय करबहादुर विक उहाँका नौ वर्षीय छोरा दलु विक र २५ वर्षीय जीवन विकको पहिचान भएको हुँदा जनाको शव आफन्तले बुझिसकेका छन् । अन्य दश जनाको सनाखत हुन सकेको छैन । उनीहरूको शव प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा राखिएको छ ।
यसैबीच बाढीले ठुलो धनजनको क्षति पुगेको बाग्लुङ, ढोरपाटनमा पुगेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आज राहत सामाग्री प्रदान गनुृका साथै बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

क्याटेगोरी :
समाचार,
गण्डकी प्रदेश
ट्याग : #baglung,
#breaking,
#flood,
#landslide,
#बाढी,
#बाढी पहिरो