कोरोनाको कहर भलै केही ढिला लाग्ला तर यो समाप्त हुन्छ । हुनसक्छ यसले अझै केही लाखको ज्यान लेला । हामीले सोंचेको भन्दा धेरै गम्भीर समस्या पनि पार्ला तर मानवताको विरुद्ध यो अन्तिम महामारी भने होइन ।
कोरोना कहरले केही नयाँ तथ्यलाई सतहमा ल्याएको छ । हामी ठूलै राजनीतिक चक्रव्युहमा परिसकेका छौं ।
संसारमा राजनीतिक, आर्थिक सामाजिक विकल्पको खोजी भइरहेको छ । नयाँ पुस्ता नयाँ जागरणका साथ आएको छ ।
काठमाडौंसहित देशैभरि नयाँ आन्दोलन सुरु भएको छ । रोजगार, शिक्षा, स्वास्थ्य, आवास, आधारभूत आवश्यकताको रुपमा लैजान सकिएन भने देशमा दुर्घटना हुनसक्छ । विश्वमा निजीकरण र उदारीकरणका नाममा भएका विकृतिका विरुद्ध असन्तुष्टि र आन्दोलन बनिरहेको छ । उदारीकरण र निजीकरण जस्तो गरीवलाई थप तन्नम र धनीलाई थप धनी बनाउने गलत नीतिका विरुद्धको आन्दोलनलाई दवाउन अब अधिकांश शासकहरुले तानाशाही चरित्र अपनाइरहेका छन् ।
भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा युवाहरुको स्वतःस्फुर्त आन्दोलन सकारात्मक सन्देश हो । गलत बाटोमा जान खोजेको राजनीतिलाई युवाहरुले सडकको बलमा सही दिशामा ल्याउन खोजेका छन् । भ्रष्ट शासकका विरुद्ध खबरदारी गरेका छन् ।
भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा भइरहेको युवाहरुको यो स्वतःस्फुर्त आन्दोलनलाई कसैको उक्साहटमा भएको भनेर उपेक्षा या दमन गरियो भने यसले राजनीतिक दुर्घटना निम्त्याउँछ । सही र गलत विषयलाई पार्टीको दायराभन्दा माथि उठेर इमान्दार र स्वाभिमानको पक्षमा राजनीति गर्नेहरुले यो आन्दोलनमा समाहित हुने, ऐक्यबद्धता जनाउनै पर्छ ।
कुनै पनि उपलब्धि सित्तै पाइदैंन, यसका लागि संघर्ष अनिवार्य छ । सही कार्यदिशाले मात्र राजनीतिलाई सच्याउँछ । सडकमा उठेको यो आन्दोलनलाई सही दिशामा लग्नुपर्छ ।
सरकारले कोरोना नियन्त्रणका नाममा लागातार लकडाउनमा जनतालाई बन्दाबन्दीमा राखेर पनि जनताको जीवन दैनिकीमा आवश्यक पर्ने बन्दोबस्तीको व्यवस्था गर्न नसकेको उपज नै अहिले युवा दस्ता सडकमा उत्रेको हो, नागरिकको ठूलो हिस्सा सरकारको विरुद्धमा खडा भएको हो ।
संकटका बेला राज्य वा सरकारसँग जनतालाई आशा र विश्वासले बाँध्न सक्नुपर्नेमा वर्तमान सरकारले आफना कमजोर शासन व्यवहारका कारण जनतासँग टाढाटाढा बनाउँदै लग्यो । फलतः जनताको निरास हिस्साको असन्तोष र आक्रोश क्रमशः सडकमा पोखिदैछ । यसले एकातिर कोरोना संक्रमण नै मासमा फैलिने खतरा बढेको छ भने सरकारको विरोध अरु चर्कने संकेत गरेको छ ।
असंगठित युवाको सामाजिक संजालको माद्यमबाट सुरु भएको अहिलेको युवा विरोधलाई सरकारले समयमा नै सुनेर सरकारले आफना कमी कमजोरीहरु सुधार नगर्ने हो भने गुठी विधयेकको विरोधमा जस्तै जनताको ठूलो हिस्सा सडकमा आउने खतरा देखिन्छ ।
फेरि अहिलेको शासन व्यवस्था, संविधान र गणतन्त्रलाई उल्ट्याउन चाहने शक्ति समूहले पनि यस्ता जायज मागका विरोधहरुमा घुसपैठ गरेर विरोधलाई विषयान्तर गरेर आफनो दुनो सोझ्याउने कोशिस गर्न सक्छन । सरकारले मुख्य रुपमा ध्यान दिनुपर्ने यहीनेर हो ।
पारदर्शिता, जवाफदेहिता र सहज उपचार पद्धति जस्ता जायज मागहरुको जगमा सरकारको विरोधमा उत्रेका युवाहरुलाई कसैले व्याकअप गरेको हो वा होइन, यसमा कसैको घुसपैठ छ वा छैन वा यो नेपालको नयाँ नक्सा लागू गर्ने निर्णय तुहाउन रचिएको विषयान्तर गर्ने षडयन्त्र पो हो कि भन्नेमा सरकार नै स्पष्ट हुन जरुरी छ ।
असंगठित भीडले कुनै न कुनै संगठित आश्रय खोज्छ । यसलाई नेतृत्व दिन उत्साहितहरु को छन वा यो कतातिर बहकिदै छ भन्नेमा पनि सरकारको पर्याप्त ध्यान समयमा नै पुग्नु आवश्यक छ ।
सरकारले आफना सबै काम बिबादरहित र पारदर्शी बनाउँदै जनताको सेवा र उपचारलाई नै आफनो मुख्य कार्यलक्ष्य वा धर्म बनाउने हो भने यस्ता विरोधहरुको मुहान नै बन्द हुन्छ । अहिलेको जनस्तरको विरोध सरकारको कमजोर रवैया र गलत काम कारवाहीहरु विरुद्ध देखिन्छ । तर, यसलाई क्यास गरेर व्यवस्थाकै विरुद्ध डोर्याउने कुचेष्टा नहोला भन्न सकिन्न । सरकार र सचेत राजनीतिक दलले ध्यान दिनुपर्ने मुख्य विषय यही हो ।
क्याटेगोरी :
भिडियो,
समाचार
ट्याग : #breaking