Techie IT
×
गृहपृष्ठसमाचारसात जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२८ पुग्यो

सात जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२८ पुग्यो


काठमाडौं, १५ भदौ । नेपालमा गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुने संक्रमितमा ३ महिलारबालिका र ४ पुरुष गरी ७ जना रहेको मन्त्रालयले जानकारी दिएको हो।

गत २४ घण्टामा महोत्तरीका ४ वर्षीया बालिका, गोरखाका ६५ वर्षीय र रुपन्देहीका ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोरोना संक्रमित मृत्यु हुने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन्। यसअघि आइतबार एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ५४ प्रतिशत हो। पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

शनिबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हाल १७ हजार ८२२ जना संक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७०१ छन्। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना छन्।

आज ११ हजार ९२९ जनाको पिसिआर परीक्षण भएको छ। हाल ७३३७ जना क्वारेन्टाइनमा छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस