Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौं महानगरले बजार अनुगमन गर्दा अखाद्य वस्तु भेट्टायो

काठमाडौं महानगरले बजार अनुगमन गर्दा अखाद्य वस्तु भेट्टायो


काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ । मङ्गलवार महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो ।

उपप्रमुख डङ्गोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्री पसलहरुमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे÷नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

उपप्रमुख डङ्गोलले भनिन्, ‘‘दशैँको समयमा धेरै अनियमितता हुने देखिएको छ, बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन् । कारबाहीभन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ । कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानुनी कारबाही गर्नेछौँ ।’’

बजार अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रमुख डङ्गोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी उनले बताइन् ।

उपप्रमुखल बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन् । उपप्रमुख डङ्गोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘‘बेच्ने मान्छे मात्र नभइ किन्ने मान्छे पनि खाद्य र अखाद्यको पहिचान गर्न नसकेको हामीले पायौँ । हामी जति ठाउँमा गयौँ त्यहाँ अखाद्य नै बेचिरहेको पायौँ । दशैँपछि पनि हामी टिमटिम बनाएर अनुगमन गर्नेछौँ ।’’

उनले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बबताइन् ।

उनले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाइन् । उनले यस वर्षको दशैँका लागि विभागले १८ सय खसीबोका र पाँच सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताइन् । उपप्रमुख डङ्गोलले कतिपय च्याङ्ग्राहरु आइसकेको र केही आउने क्रममा रहेको पनि जानकारी गराइन् ।

उपप्रमुख डङ्गोलले भनिन् ‘‘हामीले उपभोक्तालाई डेट सकिसकेका खाद्य सामग्री बेचेका छैनौँ । हामी महानगरपालिकाले दिएको सुझावलाई सुधारेर जान्छौँ । १८ सय खसीबोका, पाँच सय च्याङ्ग्रा ल्याउनेछौँ । कतिपय च्याङ्ग्रा आइसकेको छ । आउने क्रममा छ ।’’


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #anugaman

तपाईको प्रतिक्रिया दिनुहोस