Techie IT
×
गृहपृष्ठखेलकुदभलिबल खेल हेर्न फुङलिङ नगरपालिकाले दियो सार्वजनिक बिदा !

भलिबल खेल हेर्न फुङलिङ नगरपालिकाले दियो सार्वजनिक बिदा !


ताप्लेजुङ, ९ असोज । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज आइतवार सार्वजनिक बिदा दिएको छ ।

असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताए ।

नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताए ।

प्रतियोगितामा ताप्लेजुङका सबै पालिकाले उत्साहजनक भाग लिएका आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवम् खेल संयोजक क्षितिज सुनुवारले बताए ।

प्रतियोगितामा प्रथम हुनेले दुई लाख ७५ हजार एक सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले एक लाख ४० हजार एक सय र सेमिफाइनलमा पुग्ने दुई समूहलाई तृतीय पुरस्कारस्वरूप ४५ हजार एक सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार, प्रदेश १
ट्याग : #fungling, #hot, #taplejung

तपाईको प्रतिक्रिया दिनुहोस