Techie IT
×
गृहपृष्ठप्रदेशवीरगञ्जमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

वीरगञ्जमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु


वीरगञ्ज, १३ भदौ । पर्साको वीरगञ्ज महानगरपालिकाका थप तीन जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

वीरगञ्जको नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना थप उपचारको लागि काठमाण्डौ लैजानेक्रममा एक जना गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

उपचाररत कोरोना संक्रमितहरु मध्ये शुक्रबार राती दईु जना र शनिबार बिहान एक जना गरी थप तीन जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसीयाले पुष्टि गरे ।

मृतक तीनजनामा एक जना ६५ वर्षिय महिला र ४३ तथा ४० वर्षिय दुई जना पुरुष रहेका छन् भने मृतक तीनै जना पर्साको वीरगञ्ज महानगरपालिकाका स्थानीयवासिन्दा हुन् ।

मृतकमध्ये ६५ वर्षिय महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार अपरान्ह उपचारको नारायणी अस्पतालमा ल्याईएको थियो भने उपचारको क्रममा बेलुकी साढे ५ बजे ती महिलाको मृत्यु भएको थियो । मृत्युपश्चात आएको कोरोना परिक्षणको रिर्पोटमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सुचना अधिकारी डा. चौरसियाले जानकारी दिए ।

त्यस्तैगरी शुक्रबार राती ११ बजेर ५५ मिनटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का ४३ वर्षिय युवकको कोरोना संक्रमणको कारण वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक युवक हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेकाले स्वास्थ्य अवस्थामा समस्या भएपछि तीन दिन पहिले अस्पतालमा भर्ना गरिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा ल्याईएको थियो ।

त्यस्तैगरी शनिबार महानगरपालिका वडा नम्बर २२ मनियारीका ४० वर्षिय युवकको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो ।
वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालले काठमाण्डौमा गएर थप उपचार गराउनको लागि रेफर गरेको थियो । ती संक्रमितलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे मृत्यु भएको डा। चौरसीयाले जानकारी दिए ।

पछिल्लो थप तीन जनाको मृत्यु भएसंगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । साउन यतामा मात्रै कोरोना संक्रमणको कारण ४४ जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका २ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस