Techie IT
×
गृहपृष्ठअर्थकाठमाडौंबाट हुँदै आएको लुक्ला उडान अब मन्थलीबाट

काठमाडौंबाट हुँदै आएको लुक्ला उडान अब मन्थलीबाट


रामेछाप । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाण्डौ–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा, सुविधाका लागि विमानस्थल निर्माणको काम भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् ।

बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । रामेछाप–लुक्ला नियमित उडानका लागि मन्थली विमानस्थल व्यवस्थित भए/नभएको बारेमा मन्त्रीसहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए । उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुका लागि विमानस्थलमा आवश्यक संरचना निर्माण गरिने बताए ।

मन्त्री श्रेष्ठले विदेशी तथा स्वदेशी नागरिक विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा, सुविधा व्यवस्थित बनाउन निर्देशन दिए । सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमी हुन नदिने उनको भनाइ छ ।

बिहीवार नै मन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको जहाज अवतरण गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताए । उनले वर्तमान सरकारले एउटा जिल्लालाई मात्रै साधन, स्रोत बनाउनेभन्दा पनि सबै जिल्लामा समानुपातिक स्रोत, साधनको विकास गर्ने उद्देश्य रहेको बताए । अघिल्लो सरकारले सबै स्रोत र साधन झापा जिल्लामा मात्रै लगेको उनको आरोप छ ।

मन्त्री श्रेष्ठले विमानस्थल विस्तार गरेर नियमित उडानका लागि धेरै समय दाङवासी निराश हुन नपर्ने बताए । उनले काठमाण्डौ पुगेपछि विमानस्थलको बारेमा अर्थमन्त्रीसँग बजेट सुनिश्चितताका लागि कुरा गर्ने आश्वासन दिए। नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा विमानस्थल बनाउन लागिएको उनको भनाइ छ ।

दाङको टरिगाउँ विमानस्थल वि.सं. २०१७ सालदेखि सञ्चालनमा आए पनि समयमा नै स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन सकेको छैन । स्थानीयवासीले विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् । विमानस्थल नजिकै प्युठानको स्वर्गद्वारी जस्ता महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरू रहेका छन् । तर टरिगाउँ विमानस्थल प्रत्येक चुनावमा एजेन्डा बन्ने गरेको भए पनि निर्माण हुन सकेको छैन ।

 


क्याटेगोरी : अर्थ, पर्यटन, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस