Techie IT
×
गृहपृष्ठसमाचारनागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरञ्जन सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख भएको प्रावधानलाई उल्लङ्घन गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दिएको रिट आज बिहीवार दर्ता भएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

यसै विषयमा अरू रिट पनि आएको र दर्ता हुनेरनहुने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए । रिटमा सुनीलरञ्जन सिंहले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गरेका छन् ।

सङ्घीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्था विपरीत राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरि संविधानलाई नै मिच्ने काम गरेको रिटमा उल्लेख छ ।

सरकारले दुवै सदनबाट पास गरेर पठाएको नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले १५ औँ दिनमा केही सुझावसहित प्रतिनिधि सभालाई नै फिर्ता पठाएका थिए । त्यसपछि सरकारले पुनः विधेयकलाई जस्ताको तस्तै दुवै सदनबाट पास गरेर पठाए पनि राष्ट्रपतिले संविधानमा उल्लेख भएको १५ दिनभित्र प्रमाणीकरण नगरेपछि आलोचना र समर्थन दुवै भइरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस