Techie IT
×
गृहपृष्ठसमाचाररोजगारी : कोरोनाको मारमा

रोजगारी : कोरोनाको मारमा


कोभिड १९ को प्रभावले नेपालको बेरोजगारी कुन हदसम्म पु-याएको छ अहिले कुनै एकिन गर्न सकिन्न । यस विषयमा कुनै अध्ययन अनुसन्धान पनि भएको छैन । विश्वव्यापीरुपमा परेको मारसंगै नेपालको रोजगारी कुन हदसम्म प्रभावित हुन पुगेको या पुग्नेछ त्यसको अन्दाजसम्म गरिएको छैन । व्यक्तिगत अनुसन्धान बाहेक संस्थागत रुपमा अनुसन्धान गर्ने कुनै सम्बन्धित निकाय पनि छैन । यस्तो विकराल परिस्थितिको जबसम्म अनुसन्धान हुन्न तबसम्म नेपालको आर्थिक जीवनको अबको रुपरेखा तय गर्न सकिन्न । परम्परागत रुपमा चल्दै आएको आर्थिक सन्तुलन यहीँनेर आएर भङ्ग भएको छ । आर्थिक रुपमा भग्नावशेष भएको मुलुकको जिर्णोद्धार नभएसम्म रोजगारीका अवसरहरुलाई पुनस्र्थापित गर्ने मेलोमेसोसम्म रहन्न । यस्तो विकराल परिस्थितिको अनुसन्धानपछि मात्र रोजगारीलाई लिकमा ल्याउने कुनै कारगर उपाय निस्कन सक्छ ।

नेपालमा पछिल्लो पटक सेवा व्यवसाय र सीमित उद्योगमा रोजगारी सीमित थिए । ९० को दशकदेखि नै राष्ट्रिय उद्योग धन्दाहरु निजीकरण गर्ने सरकारको मुहिम चल्यो । नेपाली कच्चा पदार्थमा आधारित ती उद्योगहरुको निजीकरणसँगै ठूलो संख्यामा रोजगारी गुम्यो । आर्थिक उदारीकरणको मारमा परेर बन्द भएका उद्योगधन्दा लिक्विडेसनमा मात्र परेनन् । अर्थात उद्योगको निजीकरणमात्र भएन तिनको तेजोबध गर्न दलाल पुँजीलाई प्रश्रय दिइयो । यो नीतिको मारमा परेर अधिकांस उद्योगहरु बन्द भए । ठूलोसंख्यामा रोजगारी दिने क्षेत्र गुम्यो । यसका अतिरिक्त सेवा व्यवसाय वा उद्योगमा रोजगारीको शृङ्खला बढेको जस्तो देखियो । संसदीय व्यवस्थाको पुनस्र्थापनासँगै उदार अर्थनीति र खुलापनले सेवा व्यवसाय केही मात्रामा फस्टाएको जस्तो देखिएको थियो । तर, कोरोनाको कहरसँगै यो क्षेत्र पनि अस्तव्यस्त भएको छ । सेवा व्यवसायमध्ये पनि पर्यटन व्यवसायसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, आरोहण, पथप्रदर्शन गराउने निजी व्यवसाय पनि धरापमा परेका छन् । यसले लाखौं रोजगारी गुम हुन गएको छ । सेवा व्यवसायमध्येको पर्यटनसँग सम्बन्धित व्यवसाय तङ्ग्रिन अझै केही वर्ष लाग्ने देखिएको छ । नेपालभित्रैको रोजगारी र व्यवसायको ठूलो अवसर भएको यो क्षेत्र डुब्दा नेपालको कुल गार्हस्थ उत्पादनमा ठूलो धक्का लाग्ने निश्चितै छ ।

अर्को, नेपालमा बैदेशिक रोजगारीको ढोका ८० कै दशकदेखि खुलेको हो । यसको विकल्पमा स्वदेशमै रोजगारी खोज्ने उपायमा प्राथमिकता नदिँदा आज लाखौं युवा विदेशिन बाध्य भए । तर, कोरोनाको कहरसँगै यो क्षेत्र पनि सुरक्षित हुन सकेन । नेपालको आर्थिक जीवनमा मनग्गे योगदान दिएको क्षेत्र पनि गुम्दै जाँदा यसले देखाउने चित्र कस्तो होला अझै एकीन गर्न सकिन्न ।

कोरोना कहरपछिको आर्थिक परिदृश्य एउटा भयङ्कर तुफानको रुपमा आउँदैछ । यहाँ निश्चित मानिसको रोजगारीको सिलसिला मात्र टुटेको अर्थमा लिन हुन्न । विप्रेषणले धानेको नेपालको अर्थतन्त्रको भविष्य यहीँनेर आएर टक्क अडिएको छ । बूढी मरी भन्ने अर्थमामात्र रोजगारीलाई लिनु हुन्न, काल पल्किएको अर्थमा लिनुपर्छ । श्रमसँगमात्र सम्बन्धित अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा नबदल्ने हो भने अबका दिन कष्टपूर्ण हुनेछन् । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस