Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशजनकपुरका अर्जुनको हत्या गरेको आरोपमा ५ जना पक्राउ

जनकपुरका अर्जुनको हत्या गरेको आरोपमा ५ जना पक्राउ


महोत्तरी । जनकपुरधाम ७ का माछा बजारका १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका ४ घर भइ जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्ने वर्ष ३२ का जितकुमार यादव, त्यही ठाउँका २१ वर्षीय कृष्ण यादव, वर्ष २५ का सन्तोषकुमार सुडी, धनुषा औरही गाँउपालिका २ घर भइ क्षीरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा बस्ने वर्ष २१ की प्रमिला महरा र त्यही ठाउँका वर्ष २७ का विगुल मुखिया छन् । पक्राउ पर्ने जितकुमार र कृष्ण दाजु–भाइ हुन् भने प्रमिला र विगुल श्रीमान्–श्रीमती हुन् । गएको साउन २१ गते महोत्तरीको लोहारपट्टीमा अर्जुनको शव भेटिएको थियो ।

झन्डै एक वर्ष अगाडि प्रमिला, बिगुल र कृष्णले साहको घरबाट एक लाख रुपैयाँ नगद र सुनका गरगहना चोरी गरेका थिए । त्यसको ६ महिनापछि अर्जुनकी आमाले प्रमिला र कृष्णलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी त्यो रकम तिर्न प्रमिलाका श्रीमान् बिगुलले एक लाख १७ हजार र कृष्णले दुई लाख ४६ हजार रुपैयाँको तमसुक बनाएका थिए । तमसुक बनाएपछि उनीहरू सम्पर्कविहीन थिए ।

त्यसपछि फेरि अर्जुनकी आमाले उनीहरूलाई जनकपुरधाममै भेटेपछि तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाउनुभएको थियो । त्यही रिसइबीका कारण कृष्णले अर्जुनको हत्या गरेमा ३० हजार रुपैयाँ दिने भनेर आफ्ना दाजु जितकुमार र सन्तोषलाई बताएका थिए । त्यही योजनाअनुसार साउन २० गते जितकुमारले अर्जुनलाई फोन गरी उनले चलाउँदै गरेको रिक्सा एक हजार रुपैयाँ भाडा दिइ रिजर्भ गरेर लोहारपट्टीको फूलबरिया गाउँ जाने भनी बोलाएका थिए ।

अर्जुन पुगेपछि जितकुमार र सन्तोषले लोहारपट्टी जाने भित्री सडक खण्डमा लगेर घाँटीमा गम्छाको पासो लगाएर रिक्साभित्रै हत्या गरेको बयान दिएका प्रहरीले बताएको छ । त्यसपछि अर्जुनको शवलाई सडकदेखि पश्चिमपट्टिको नहरमा फालेपछि उनीहरू दुवै जना त्यही रिक्सामा जनकपुर फर्किएका थिए । रिक्सा जितकुमारले चलाएका थिए । उनीहरू त्यो रिक्सा जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलको माँ जानकी सप्लायर्स प्रा। लि। बालुवा डिपो नजिकको सडकमा छोडी फरार भएका प्रहरीको अनुसन्धानमा खुलेको छ ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस