आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ
सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् ।
आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा यस अघि हिमाल किरण क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो । प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।
क्याटेगोरी :
समाचार