विराटनगर र धरानमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु
मोरङ, ८ भदौ । विराटनगरमा थप एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ हरिहर चोकका एक ६५ वर्षीय पुरुषको ज्यान गएको हो ।
हिजो दिउँसोसम्म कुनै लक्षण तथा कुनै समस्या नभएको उनलाई बेलुका ६ बजे विराटनगरमा रहेको कोभिड १९ उचार केन्द्रमा लगिएको थियो ।
केन्द्रमा नै उनको राति ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष निश्चल अर्यालले जानकारी दिए । कोभिड उपचार केन्द्रमा सामान्य अवस्थामा गएका उनको राति ज्यान गएको वडाध्यक्ष अर्यालले बताए ।
मोरङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गइसकेको छ ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना सङ्क्रमितको ज्यान गएको छ । धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका सङ्क्रमितको आइतबार बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । यसअघि प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो ज्यान गएको थियो ।
क्याटेगोरी :
प्रदेश,
कोशी,
समाचार
ट्याग : #breaking,
#Corona