Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुपाल्चोक लिदीका विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु

सिन्धुपाल्चोक लिदीका विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु


काठमाण्डौ, ७ भदौ । सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ । जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा सार्ने गरी काम सुरु भएको हो ।

आज बिहानैबाट सुरक्षाकर्मी खटिएर टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम सुरु भएको छ । पहिलो चरणमा १ सय २१ परिवारलाई टेन्टमा राख्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए

१ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने पहिचान भएका १ सय २१ परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामाग्री ढुवानी गरिएको गाउँपालिकाका योजना सल्लाहकार अधिकृत रामबाबु नेपालले जानकारी दिए ।

बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय अनुसार हिजो ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउनेछ ।

जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । सिन्धुपाल्चोकको लिदीमा साउन ३० गते शुक्रबार गएको पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परेको छ । बाँकी ७ जनाको पनि खोजी कार्य भैरहेको योजना सल्लाहकार अधिकृत नेपालले जानकारी दिए।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार