संखुवासभाको आइसोलेसन वार्ड तोफोड, क्याम्पस प्रमुख पक्राउ

सङ्खुवासभा, ६ भदौ । जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आइसोलेसन वार्डमा तोडफोड भएको छ । जिल्लाका तीन जना सङ्क्रमितलाई राखिने भएपछि शुक्रबार राति आइसोलेसन वार्डमा तोडफोड गरिएको हो ।
कोरोना सङ्क्रमितहरूलाई राख्नको लागि सम्पूर्ण मापदण्डसहितको आइसोलेसन कक्षको साँचो काटेर भित्र प्रवेश गरी तोडफोड गरिएको खाँदबारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्याम झाले जानकारी दिए ।
आइसोलेसन कक्षका अत्यावश्यक सामग्रीहरू चोरि भएकोसमेत निमित्त मेसु झाले जानकारी दिए । झाका अनुसार आइसोलेसनका करिब १५ लाख बराबरको सामग्री चोरी भएको हो । अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडरलगायत सामग्री चोरी भएको अस्पतालका मेसु झाले बताए ।
आइसोलेसन वार्डमा तोडफोड भएपछि क्याम्पस प्रमुख डाक्टर मात्रिकाप्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानका लागि डाक्टर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। डाक्टर तिम्सिनाको घटनाअघिका केही अभिव्यक्तिका कारण उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको निरीक्षक राईले स्पष्ट पारे । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको राईको भनाइ छ ।
सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवा खोलामा बनाइएको क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र अर्को २२ वर्षीय एक पुरुषमा समेत कोरोना पोजिटिभ देखिएको हो । उनीहरूलाई बिहीबार क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।
क्याम्पसको आइसोलेसनमा तोडफोड गरिए पनि सोही ठाउँमा पुनःमर्मत गरेर कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जनाको उपचार भइरहेको उहाँको भनाइ छ । कोरोना पुष्टि भएको चौथो दिनमा उनीहरूलाई आइसोलेसनमा ल्याइएको हो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य, कोशी प्रदेश
ट्याग : #Corona, #isolation
प्रतिक्रिया