Techie IT
×
गृहपृष्ठसमाचारकोरोना सङ्क्रमणले खल्लो तीज

कोरोना सङ्क्रमणले खल्लो तीज


माइतीमा गएर छमछम नाच्ने तीजको दिन आज कोरोना सङ्क्रमणले निषेधाज्ञाका कारण यहाँका महिलाहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन चोकसम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ । माइतीमा आमा र दिदीबहिनीसँग रमाउने तीजमा घरमै रत्यौलीमा झैँ सासू, देवरानी र जेठानीसँग नाचेर तीज मनाउन महिलाहरु बाध्य छन् ।

भरतपुर महानगरपालिका–१० की ८४ वर्षीया विष्णुमाया गौतमले जीवनमा पहिलो पटक यस्तो तीज देखेकी हुन् । उनको जीवनमा फरकफरक तीज देखिए तर यस वर्ष सुनसान भयो । छोरी, नातिनीलाई बोलाएर एक छाक खुवाउन परै जावस् घरबाहिर पनि निस्कन नपाएको उनीको भनाइ छ । बाल्यकाल, युवा र बूढो हुँदै जाँदा तीजको पारा फेरिँदै गए पनि सुनसान चाहिँ यही वर्ष भएको गौतम बताउँछिन् । उनीले भनिन्, “बाँच्यो भने अर्को वर्ष रमाइलो गरी तीज मनाउँला ।” कोरोना रोगका कारण निषेधाज्ञा भएको र तीज मनाउन नपाएको उनीलाई थाहा छ ।

तीजको दिन आज जिल्लाका शहरी र ग्रामीण क्षेत्र भरिभराउ हुन्थे । रङ्गीचङ्गी कपडामा बालिकादेखि वृद्धासम्म रमाउने गर्दथे । गाउँ र शहरका ठाउँठाउँमा टेण्ट लगाएर तीज गीतका कार्यक्रम गरिन्थ्यो । पाँच वर्षअघि निकै भड्काउ तीज हुन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण गर्नुपरेको थियो । एक महिना अघिदेखि दरका नाममा भोज भतेर हुने गरेको थियो । स्थानीय रेडियोले प्रायोजक खोजेर महँगा पुरस्कार राखेर प्रतियोगिता गर्ने गर्दथे ।

स्थानीय कालिका एफएम र टेलिभिजनका निर्देशक दीपक पौडेलका अनुसार आजका दिन नजिकैको शिव मन्दिरमा तीज गीत महोत्सव गर्ने गरिएको थियो । विसं २०५९ सालमा रेडियो स्थापना भए यता बर्सेनि आजका दिन भव्य कार्यक्रम गरेको उनले बताए । पौडेलले भने “पाँच वर्षअघि सम्म रेडियो परिसरमै ठूलो राशिको पुरस्कार राख्थ्यौँ । पछि प्रशासनले रोक लगाएपछि महोत्सव गर्न थाल्यौँ ।” पुरस्कारको राशि प्रथम हुनेलाई रु ६० हजारसम्म दिँदा ११० समूह सहभागी भएको उनले स्मरण गरे। त्यतिबेला चितवन, नवलपरासीसँगै छिमेकका जिल्लाबाट पनि प्रतियोगी आउँथे । अहिले भने सुनसान छ । खिचेर सामाजिक सञ्जालमा पठाएका नाच, गीत टिभीमा प्रसारण गरिरहेको उनले बताए ।

भरतपुर महानगरपालिका उपप्रमुखसमेत रहेकी नेपाल महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी रोगको सङ्क्रमणका कारण तीज मनाउन नपाएको बताउँछिन् । उनका अनुसार विगतका वर्षमा जिल्लाको मुख्य बजार नारायणगढमा स्टेज बनाएर भव्य कार्यक्रम गरिन्थ्यो । वडादेखि नगर, क्षेत्र र जिल्लाले दर खुवाउने कार्यक्रमसमेत गर्ने गर्दथे । उनले भने “सम्भवतः जिल्लामा सबैभन्दा ठूलो सहभागिता हाम्रो हुन्थ्यो ।”

सासू, ससुरा र श्रीमानसँगै परिवारदेखि सरकारका काम कुरालाई गीतको भाकामा छेड हान्दै र प्रश्रय दिँदै आ–आफ्ना गीत महिलाहरुले गाउने गर्दथे । अखिल नेपाल महिला सङ्घ चितवनका अध्यक्ष सङ्गीता भट्टराई आफ्नो जीवनमा पहिलो पटक यस्तो तीजमा रमाउनु परेको बताउँछन् । रोगको सङ्क्रमणको बाध्यता बुझेकै कारण जे जस्तो अवस्था छ त्यसैमा रमाउन उनले आग्रह गरे । विगतका तीजमा वडादेखि जिल्ला तहसम्मले गरेको रमाइलो सम्झँदै अहिले घरमै बसेर तीज मनाउनुको विकल्प नभएको उनले बताए ।

जिल्लाका छ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकाले घरबाट बाहिर निस्कन मिल्दैन । सबै घरघरमै बसेर तीज मनाइरहेका छन् । बुहारीहरुले सासूसँग र सासूले बुहारीसँग नाचेर यस वर्ष घरघरमा तीज मनाउनुपरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण वर्षदिनमा आउने महिलाहरुको ठूलो पर्व तीज खल्लो भएको छ । तैपनि रोगको सङ्क्रमणका कारण सबैले भनेका छन्, “बाँचिबसे अर्को वर्षको तीज धुमधाम साथ मनाउँला ।”

नजिक माइती भए पनि रोगको डरले छिमेकीले के भन्लान् भनेर धेरैले छोरी बोलाउन र जान आँट नगरेको भरतपुरकी शारदा शर्माले बताए । हिँडडुलमा नै रोक लगाइएको छ । समूहमा उठबस गर्न सम्भव नै नहुने भएकाले राति दर खाएका महिलाहरु आज बिहानदेखि घरमै सामाजिक सञ्जालमा रमाएर यस वर्ष तीज मनाइरहेका छन् । धेरैले घरमै गरिएका नाचगानका तस्बिर र भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको देख्न सकिन्छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस