गृहपृष्ठ ∕
समाचार ∕
सिंहदरबार वैद्यखानामा चार महिनापछि औषधि उत्पादन सुरु
सिंहदरबार वैद्यखानामा चार महिनापछि औषधि उत्पादन सुरु
काठमाडौं । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।
धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आएर हाजिर गरेर फर्कने गरेकामा गएको शुक्रवारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेकामा कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको सोमवार कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादवलाई पठाएपछि उहाँको अग्रसरतामा शुक्रवारदेखि उत्पादन सुरु भएको हो ।
औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा सबरी साहले भने ज्यालादारीमा कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए । डा साहले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गर्नुभएको थियो ।
उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । शुक्रवारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवम् बजारमा समेत पठाइने जनाइएको छ । षड्बिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ ।
क्याटेगोरी :
समाचार,
स्वास्थ्य