Techie IT
×
गृहपृष्ठपर्यटनबाग्मती नदीमा डुबेर दुई पर्यटक बेपत्ता, एक जनाको उद्धार

बाग्मती नदीमा डुबेर दुई पर्यटक बेपत्ता, एक जनाको उद्धार


रौतहट, १९ असार । रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ ।

चन्द्रपुर नगरपालिका– १ बाग्मती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेका थिए । अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिए ।

भारतीय नम्बर प्लेट बीआर ०१ एचएफ६६१९ नम्बरको कारमा घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताए । उनको अवस्था सामान्य रहेको छ ।

यता घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीटोली खोजी कार्यमा जुटेको छ । आइतबार बिहानसम्म पनि बेपत्ता पर्यटक पत्ता लाग्न सकेको छैन । नुनथर पर्यटक संरक्षण समितिले आन्तरिक एवम् वाह्य पर्यटकसँग पर्यटकीय शुल्क लिने गरेको छ । तर समितिले खटाएको कर्मचारीको लापरवाहीले पनि नदी सम्बन्धि जानकारी नभएका पर्यटक नदीमा डुब्ने गरेको स्थानीयको आरोप छ ।


क्याटेगोरी : पर्यटन, समाचार, मधेस प्रदेश
ट्याग : #bepatta, #breaking, #river


तपाईको प्रतिक्रिया दिनुहोस