Techie IT
×
गृहपृष्ठसमाचारनिषेधाज्ञाको समयमा पसल बिहान ७ बजेसम्म मात्रै खुल्न पाउने

निषेधाज्ञाको समयमा पसल बिहान ७ बजेसम्म मात्रै खुल्न पाउने


काठमाण्डौ, ४ भदौ । निषेधाज्ञाको समयमा खाद्यान्नसहितका पसल बिहान ७ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।

खाद्यवस्तुु, तरकारी, फलफुल, दूधका पसल तथा व्यवसाय बिहान ७ बजेसम्म मात्रै खोल्न पाइने भएको हो । अत्यावश्यक सेवाभित्रै पर्ने भए पनि खाद्यान्नका पसल, तरकारी, फलफुल तथा दूध डेरी दिनैभरि खुलाउँदा भिडभाड बढ्ने र कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले बिहान ७ बजेसम्म मात्रै खुलाउन भनिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

यसअघि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइने उल्लेख छ ।

त्यस्तै मासुजन्य पदार्थ, दाना र भेटेरिनरी, बैंक, बीमा, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ लगायतका सेवा पनि सञ्चालन हुने भनिएको छ । बैंकिङ सेवाका लागि सकेसम्म भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एटीएम बुथमा पर्याप्त नगद राख्न र ग्राहकलाई विद्युतीय कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीलगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा गए रातिदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा लागू भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस