गृहपृष्ठ ∕
प्रदेश ∕
हेटौँडा उपमहानगरपालिकामा मृत्यु भएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि
हेटौँडा उपमहानगरपालिकामा मृत्यु भएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि
हेटौँडा, ३ भदौ । हेटौँडा उपमहानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलका एक पुरुष र हेटौँडा उपमहानगरपालिका वडा नं १९ मा एक महिलाको पछिल्लो २४ घण्टायता मृत्यु भएको हो । मृत्युपश्चात सार्वजनिक भएको स्वाब परीक्षण नतिजामा दुवैमा कोरोना पुष्टि भएको छ ।
हेटौँडा १ का ६१ वर्षीय पुरुषको मङ्गलबार राति निधन भएको थियो । उनी मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगीका रुपमा उपचाररत थिए । मृत्युअघि नै स्वाब सङ्कलन गरिएपनि परीक्षणको क्रममै रहेका बेला उनको मृत्यु भएपछि सार्वजनिक परीक्षण नतिजामा कोरोना सङ्क्रमण देखिएका हेटौँडा–४ स्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
यता तीन महिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकी हेटौँडा उपमहानगरपालिका वडा नं १९ सान्ननटारकी ६२ वर्षीया महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनुअघि निकालिएको स्वाब परीक्षण नतीजा पोजिटिभ आएको जानकारी मेडिकल कलेजले दिएको हेटौँडा उपमहानगरपालिका १९ नं वडाध्यक्ष नवराज सुवेदीले बताए । मङ्गलबार बिहान ७ बजेतिर मृत्यु भएकी उहाँको दिउँसो परम्परा अनुसार सद्गद् गरिएको थियो ।
शवको सद्गद् गरिसकेपछि बुधबार बिहान मात्रै मेडिकल कलेजले स्वाब परीक्षणमा कोरोना भेटिएको जानकारी गराएपछि समाजमा त्रास फैलिएको वडाध्यक्ष सुवेदीले बताए। आवश्यक सचेतता र पूर्ण सुरक्षा सतर्कताबारे वडा कार्यालयले मृतकको गाउँटोलमा सहजीकरण गरिरहेको उनले जानकारी दिए ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
समाचार
ट्याग : #breaking,
#Corona