Techie IT
×
गृहपृष्ठसमाचारआज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन


काठमाण्डौ – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् ।

आज बुवाको मुख हेर्ने दिन पनि हो । बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गरिन्छ । बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको वेत्रावती लगायत ठाउँमा आज विशेष मेला लाग्ने गरेको भए पनि यो वर्ष कोरोनाको सङ्क्रमणका कारण भिडभाड र मेला नगर्न सरकारले निर्देशन दिएको छ ।

आजका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए।

यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षित रुपमा घर घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ । यसैबीच यो वर्षको कुशे औंसी प्रविधिको प्रयोग गरेर बुबाको मुख हेर्न डाक्टरले सुझाव दिएका छन् ।

अहिले कोरोना भाइरसको महामारी फैलिरहेकाले बुवाबाट टाढा रहेकाहरुले भेटेर भन्दा पनि प्रविधिको प्रयोग गर्न जनरल फिजिसियन डाक्टर रक्षा गौतमले सुझाव दिएका छन् । उनका अनुसार भिडियो हेरेर र फोन गरेर बुवाको मुख हेर्न सकिन्छ । प्राय बुढाबुढी दीर्घरोगी हुने र हामी जाँदा कोरोना पनि सँगै जानसक्ने भएकाले यो वर्ष प्रविधिको प्रयोगबाट नै परम्परा जोगाउन उनले आग्रह गरे।

कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड लागू गर्नेले पनि विचार गर्नैपर्ने अवस्था भएको डाक्टर गौतमको भनाइ छ । यस्तै बुवा नभएकाहरुले बुवाको सम्झनामा श्राद्ध र पूजा गर्नेहरुले पनि भिडभाड नगरी, मास्क लगाएर र धेरै मान्छे नबोलाइकन छोटो तरिकारले गर्न डाक्टरले जोड दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस